Sun. May 19th, 2024

लैङ्गिक संवेदनशील समाचार सङ्कलनसम्बन्धी तालिम सम्पन्न   

काठमाण्डौं, २०७९ मंसिर २१ गते बुधबार । प्रेस काउन्सिल नेपालको आयोजना तथा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को सहयोगमा लैङ्गिक संवेदनशील समाचार सङ्कलनसम्बन्धी दुईदिने तालिम काठमाडौँमा सम्पन्न भएको छ । तालिममा विभिन्न पाँच वटा कार्यपत्र प्रस्तुत गरिएका थिए ।

सञ्चारिक समूहका निर्वतमान अध्यक्ष नितु पण्डित, काउन्सिलका सदस्य दुर्गा भण्डारी पौडेल, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान, विज्ञ डा समीक्षा कोइराला र प्रेस काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा लैङ्गिक विषयमा कलम चलाउने ३० भन्दा बढी सक्रिय पत्रकारको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले महिला उत्तरदायी निर्देशिका बनाइसकेको र त्यसमा थप गर्नुपर्ने विषयमा राय लिन तालिम आयोजना गरिएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले लैङ्गिक संवेदनशीलता बोध भएपछि मात्र त्यसलाई व्यवहारमा उतार्न सकिने बताउनुभयो । उहाँले सबै पक्ष मिलेर मात्र लैङ्गिक हिंसाविरुद्घको अभियान सफल पार्न सकिने धारणा राख्नुभयो ।

महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, काउन्सिलका सदस्य दुर्गा भण्डारी पौडेलले तालिमले लैङ्गिक संवेदनशील समाचार सङ्कलनमा स्पष्ट मार्गदर्शन दिन सक्ने विश्वास व्यक्त गर्दै विद्यमान लैङ्गिक निर्देशिकाको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो । रासस

Facebook Comments