Mon. Dec 23rd, 2024

ढोरपाटन सिकार आरक्षमा विदेशीले गरे नाउर र झारलको सिकार

-रामबहादुर थापा/बागलुङ, २०७९ मंसिर २१ गते बुधबार । यस वर्षको पहिलो सिकार याममा ढोरपाटन सिकार आरक्षमा सात नाउर र पाँच झारलको सिकार गरिएको छ । कोटा तोकिएकामध्ये एउटा नाउरको भने सिकार गरिएको छैन ।

आरक्षका सहायक संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार अमेरिकाका चार, मेक्सिकोका दुई तथा क्यानडा र जर्मनीका एक एक नागरिकले सिकार खेलेका थिए । एक अमेरिकी नागरिक भने सिकार गर्नबाट चुकेको उहाँले बताउनुभयो । घुस्तुङ ब्लकमा दुई नाउर र दुई झारल, सुनदहमा एउटा झारल, सेङमा एउटा नाउर, दोगाडीमा तीन नाउर र एक झारल तथा फागुनेमा एक नाउर र एक झारलको सिकार गरिएको हो । अमेरिकी नागरिकले भने घुस्तुङ र दोगाडी ब्लकमा सिकार खेलेका थिए ।

तस्वीर : हन्ट नेपाल

मेक्सिकोका नागरिकले सुनदह, सेङ र दोगाडी तथा क्यानडा र जर्मनीका नागरिकले फागुने ब्लकमा नाउर र झारलको सिकार गरेका सहायक संरक्षण अधिकृत थापा मगरले बताउनुभयो । “यो याममा सिकार खेल्न आएका सबै सिकारी आरक्षबाट फर्किसके, अब फागुनदेखि दोस्रो याम सुरु हुन्छ”, उहाँले भन्नुभयो ।

यस वर्षको पहिलो सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आठ नाउर र पाँच झारलको सिकार अनुमति दिएको थियो । विद्युतीय बोलपत्रबाट छानिएका सिकार कम्पनीले तोकिएका ब्लकमा सिकार खेलाएका थिए । कम्पनीमार्फत बर्सेनि सिकार खेल्न विदेशी नागरिक ढोरपाटन आउने गरेका छन् । सिकार कम्पनी ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शम्सेर पराजुलीले जर्मनी र अमेरिकाका सिकारीलाई सिकार खेलाएको बताउनुभयो ।

आरक्षमा नेपाल ट्राभल एक्सपिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् । बर्सेनि असोज-मङ्सिर र फागुन-वैशाख गरी दुई याममा सिकार खुला हुन्छ । विभागले गराउने बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी पेशेवर सिकारीलाई नेपाल भित्राउँछन् । यो याममा एउटा नाउर सिकारमा रु २० लाख र झारललाई रु छ लाखसम्म राजश्व तिर्न कम्पनी तयार भएका थिए । ढोरपाटनको सिकार पर्यटनबाट बर्सेनि करोडौँ रुपैयाँ राजश्व राज्यको ढुकुटीमा जम्मा हुन्छ ।

सिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजश्व दर घटबढ हुने गर्छ । कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहन्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजश्व तिर्न तयार हुन्छन् । सिकार पर्यटनमा विश्वमै प्रख्यात ढोरपाटन आउन विदेशीले लाखौँ रुपैयाँ खर्चिन्छन् । उनीहरु हेलिकप्टरबाट आरक्षमा पुग्छन् । आधारशिविरबाट आरक्षका प्रतिनिधि, पथप्रर्दशक, भरिया, सहयोगीसहित सिकार ब्लकसम्म पुग्छन् । आधारशिविरबाट दुरीले टाढा र कठिन भूगोल भएका ब्लकमा पुग्न दुई-तीन दिनसम्म लाग्छ ।

सिकार टोली हतियारसहित सबै बन्दोबस्ती लिएर जाने गर्छन् । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक छन् । सिकारीले ब्लक अनुसार तोकिएको संख्यामा नाउर र झारलको सिकार गर्ने गरेका आरक्षले जनाएको छ । हरेक पाँच पाँच वर्षमा गरिने नाउर र झारलको गणनाका आधारमा विभागले सिकारको कोटा तोक्छ । सौखिन र खर्चिला सिकारी पर्यटकको रोजाइमा ढोरपाटन पर्ने गरेको आरक्षले जनाएको छ । आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी तथा हिमाली भू-भागमा पर्छ । रासस

Facebook Comments