Mon. May 6th, 2024

चीनका पूर्वराष्ट्रपति च्यांग चमिनको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि, च्यांग चमिन देशका प्रिय नेता भएको राष्ट्रपति सी चिनफिङको भनाई

काठमाण्डौं, २०७९ मंसिर २० गते मंगलबार । चीनका पूर्वराष्ट्रपति च्यांग चमिनको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । चीनको राजधानी पैचिङको पश्चिमी क्षेत्रमा रहेको पापाउसानस्थित क्रान्तिकारी चिहानक्षेत्रमा सोमबार बिहान १० बजेर ५० मिनेट जाँदा उहाँको दास संस्कार गरिएको हो ।

यसैबीच च्यांग चमिनको सम्मानमा आज विहान जनबृहत सभा भवनमा शोक सभाको आयोजना गरिएको छ । चाईना मिडिया ग्रुपका अनुसार शोक सभाको सुरुवातमा तीन मिनेट मौन धारण गरिएको थियो भने देशभर शोक सभाको संकेत स्वरुप साईरन बजाईएको थियो ।

शोक सभालाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति सी चिनफिङले च्यांग चमिन चिनियाँ जनताका महान र प्रिय नेता भएको बताउनु भयो । चीनको राष्ट्रीय स्वतन्त्रता, जनमुक्ति, देशको समृद्धि र जनताको सुखका लागि च्यांग चमिनले आजीवन संघर्ष गर्नुभएको पनि सीले प्रस्ट पार्नुभयो । चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको लागि असाधारण योगदान पुर्याउनु हुने च्यांग चमिनलाई चिनियाँ जनमुक्ति सेना, चिनियाँ जनता र अन्तरराष्टिय समुदायले अगाध प्रेम र प्रशंसा गरेको सीले बताउनु भयो । साथै राष्ट्रपति सीले च्यांग चमिनको निधनले देशलाई अपुरणिय क्षति भएको भन्दै च्यांग चमिनले अबलम्वन गर्नुभएको चिनियाँ विशेषतायुक्त समाजवादको बाटोमा आफुहरु निरन्तर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

शोक सभामा चीनका प्रधानमन्त्री लि खछयाङ, चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष तथा पदाधिकारीहरु, चिनियाँ जनराजनीतिक परामर्श दात्री सम्मेलनका अध्यक्ष तथा पदाधिकारीहरु, चिनियाँ सेनाका उच्चपदस्थ अधिकारी तथा चीन सरकारका उच्च तहका अधिकारीहरुको उपस्थिती रहेको थियो ।

चीनका पूर्व राष्ट्रपति च्यांग चमिनको ९६ वर्षको उमेरमा गत बुधबार निधन भएको हो ।

Facebook Comments