Sun. May 10th, 2026

रसुवाको धार्मिक मार्गमा रेडपाण्डा   

       

रसुवा, २०७९ मंसिर १९ गते सोमबार । गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङपाटी क्षेत्रका जङ्गलमा रातो हाब्रे (रेडपाण्डा) देखा पर्न थालेको छ । हिमपातको समय नजिकिँदै गर्दा पनि सो क्षेत्रमा लोपोन्मुख रेडपाण्डा भेटिएको हो ।

संरक्षण प्रभावकारी हुँदै गएका कारण समुद्र सतहदेखि करिब तीन हजार मिटरभन्दा माथिका जङ्गलमा रेडपाण्डा देखिन थालेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार विशेष संरक्षणअन्तर्गत निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना विष्णुदल गणको नियमित गस्ती तथा अन्य चौपाय तथा मानिसको बस्ती नभएका कारण चन्दनबारीको माथिल्ला भाग चोलाङपाटी जङ्गल क्षेत्रमा रेडपाण्डा फाट्टफुट्ट देखिन थालेको हो ।

लजालु स्वभाव रहेको रेडपाण्डाले रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोको लागि रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइमा झर्ने संरक्षण अधिृकत भट्टराईले जानकारी दिनुभयो । सन् १९८७ मा वन्यजन्तु विज्ञ डा प्रह्लाद योङ्जेनको अध्ययनले चन्दनबारी तथा चोलाङपार्टी क्षेत्रमा रेडपाण्डाको पाइने पत्ता लागेको थियो ।

यसपछि लाङटाङ राष्ट्रिय निकुञ्ज मार्फत रेडपाण्डा संरक्षण गरिँदै आइएको छ । गोसाइँकुण्ड तीर्थ गर्न जाने हिन्दू एवं बुद्ध धर्मावलम्बी र हिमाली प्रकृतिको छटा अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकसमेतले यात्राको क्रममा रेडपाण्डा अवलोकन गर्न सहज भएको जनाइएको छ । प्रमुख संरक्षण अधिकृत भट्टराईले रेडपाण्डा संरक्षणमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । रासस

Facebook Comments

सम्बन्धित समाचार