Sun. Jan 12th, 2025

चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित

चितवन, २०७९ मंसिर ८ गते बिहीबार। चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार ५ सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित हुनुभएको हो ।

ढकालले ३४ हजार १ सय ८९ मत प्राप्त गर्नुभएको छ भने पाण्डेले २६ हजार ६ सय ८ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९ सय ९ मत प्राप्त गर्नुभयो ।

सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । जसमध्ये ३ हजार ६ सय २१ मत बदर भई ९१ हजार ४ सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ । उक्त क्षेत्रको प्रदेशसभा १ मा नेकपा (एमाले)का जगन्नाथ थपलिया विजयी हुनुभएको छ । थपलियाले १७ हजार ६ सय ८८ र नेपाली कांग्रेसका किरणभूषण ओलीले १० हजार ७ सय १२ मत पाउनुभएको थियो । यस प्रदेशमा ४३ हजार ८ सय ३६ मत खसेको थियो ।

यस क्षेत्रको प्रदेशसभा २ मा नेकपा (एकिकृत समाजवादी)का कृष्णप्रसाद खनाल विजयी हुनुभएको छ । खनालले १५ हजार ५ सय ७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनालले १४ हजार ७ सय ६८ मत प्राप्त गर्नुभएको थियो । यस प्रदेशमा ५१ हजार १ सय ३६ मत खसेको आयोगले जनाएको छ । रासस

Facebook Comments