Sun. May 19th, 2024

काठमाण्डौं-१ का तीनै सिटमा कांग्रेसको ‘क्लिन स्वीप’   

काठमाण्डौं, २०७९ मंसिर ७ गते बुधबार । काठमाण्डौं जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभासहित दुवै प्रदेशसभा सदस्यमा जितेर नेपाली कांग्रेसका उम्मेदवारले ‘क्लिन स्वीप’ गरेका छन् ।

काठमाण्डौं–१ प्रदेशसभा–१ मा कांग्रेसकै दीपेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले छ हजार तीन सय मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । श्रेष्ठ यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भई हाल वाग्मती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री हुनुहुन्छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवीन शाहीले तीन हजार पाँच सय चार मत पाउनुभयो । यसैगरी, नेकपा (एमाले) का रामप्रसाद अम्गाईँले दुई हजार दुई सय ९७ मत प्राप्त गर्नुभयो ।

यस्तै प्रदेशसभा-२ मा पनि कांग्रेसकै सुरजचन्द्र लामिछानेले चार हजार पाँच सय १० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका गणेशप्रसाद दुलालले दुई हजार सात सय ५३ मत प्राप्त गर्नुभयो । दुलाल यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनका तर्फबाट सोही क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । २०७४ सालको प्रदेशसभा निर्वाचनमा कांग्रेसका तर्फबाट पनि लामिछाने नै प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

काठमाण्डौं-१ को प्रतिनिधिसभामा सोमबार राति नै कांग्रेसका पूर्व महामन्त्रीसमेत रहनुभएका नेता प्रकाशमान सिंह विजयी भइसक्नुभएको छ । सिंहको यो चौँथो पटकको जीत हो । नेता सिंह २०६४ को पहिलो संविधानसभा, २०७० को दोस्रो संविधानसभा, २०७४ र २०७९ को संसदीय निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको हो ।

यसैगरी कांग्रेसले काठमाण्डौं-३ का पनि तीन वटै सिटमा ‘क्लिन स्वीप’ गरेको छ । काठमाण्डौं क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा सन्तोष चालिसे निर्वाचित हुनुभएको छ । प्रदेशसभा १ मा कांग्रेसका छिरिङदोर्जे लामा र प्रदेशसभा २ मा कांग्रेसकै बिमल ठकुरी निर्वाचित हुनुभएको छ ।

Facebook Comments