Fri. Apr 26th, 2024

नेपाल प्रहरीमा नयाँ महानिरीक्षकको चर्चा सुरु, ठाकुरीप्रसाद ज्ञवाली र तारिणी लम्सालको नाम चर्चामा

काठमाडौं, २०७६ माघ २७ गते सोमबार

नेपाल प्रहरीको भावी नेतृत्व चयनका विषयमा उच्च तहमा छलफल सुरु भएको छ । यही २८ गते मङ्गलबार ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिदाइ हुनुहुने छ ।

गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी महानिरीक्षक नियुक्तिका लागि छलफल सुरु भएको छ । सम्भवतः २७ गते साँझसम्ममा सरकारले नेतृत्व चयनका विषयमा नयाँ निर्णय गरिसक्ने अपेक्षा गरिएको छ । प्रहरी महानिरीक्षकको सम्भावित उम्मेदवारका रूपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) द्वय ठाकुरीप्रसाद ज्ञवाली र तारिणी लम्सालको नाम चर्चामा रहेको छ । ज्ञवाली प्रदेश–१ को प्रहरी मुख्यालय विराटनगर र लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ ।

डीआईजी ज्ञवाली र लम्साल २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गर्नु भएको हो । वर्तमान महानिरीक्षक खनालका एकै विज्ञापनमा ज्ञवाली र लम्साल सेवा प्रवेशमा वैकल्पिक उम्मेदवार भएका कारण पाँच महिना ढिलो नियुक्ति पाउनुभएको थियो । सोही समूहका सूर्यप्रसाद उपाध्याय भने डीआईजी बढुवा हुँदा पछाडि पर्नुभएको थियो ।

अब नियुक्त हुने प्रहरी प्रमुख नेपाल प्रहरी सङ्गठनको २७औंँ प्रहरी महानिरीक्षक बन्ने छन् । त्यो पनि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नै नभई सीधै डीआईजीबाट आईजीपी हुनुहुने छ ।  गोरखापत्र अनलाईनबाट

Facebook Comments