Thu. May 16th, 2024

वैदेशिक रोजगारीमा रहेका युवालाई विदेशबाटै भोट दिन पाउने व्यवस्था मिलाउनु पर्छ : निश्चल नेपाल

निश्चल नेपाल

काठमाण्डौं, २०७९ कात्तिक ३० गते बुधबार । निश्चल नेपाल नेप्लिज क्यानेडियन सोसाईटी अफ एड्मन्टन क्यानडाका संस्थापक सदस्य हुनुहुन्छ । वैदेशिक रोजगारीको लागि एक दशक अघि क्यानडा पुग्नु भएका नेपाल क्यानडामा नेपाली भाषा, साहित्य, संगीत र संस्कृतिको प्रबद्र्धनमा सक्रिय हुनुहुन्छ । बडदशैं, तिहार, तिज, फागुपूर्णिमा जस्ता पर्वहरुलाई विभिन्न समारोहको आयोजना गर्दै भव्य रुपमा मनाउने गरिएको नेपालको भनाई छ । आफु स्वयं संगीतको पारखी भएको बताउने नेपाल क्यानडामा आयोजना हुने विभिन्न समारोह र भेटघाटमा नेपाली गीत पनि गाउनु हुन्छ । भख्खरै जन्मेर क्यानडा बस्न पुगेका र क्यानडामै जन्मिएका नेपालीहरुलाई नेपाली संस्कृतिको बारेमा जानकारी होस् भन्ने उद्धेश्यले नेप्लिज क्यानेडियन सोसाईटी अफ एड्मन्टन क्रियाशिल रहेको नेपालको कथन छ ।

निश्चल नेपाल

नेपालमा वर्षेनी लाखौं युवाहरु वेरोजगार रहन बाध्य भएको र उनीहरुका लागि रोजगारीको उचित अवसर नभएर विदेशीनु पर्ने बाध्यता रहेको बताउदै निश्चल नेपाल युवाहरुलाई स्वदेशमै ज्ञान र सीपले परिपूर्ण बनाउनु पर्ने बताउनु हुन्छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई आफुले गम्भिर रुपमा हेरेको बताउँदै नेपालले वैदेशिक रोजगारीमा गएका ५० लाख भन्दा धेरै युवाहरुलाई जुन देशमा उनीहरु कार्यरत छन् सोही देशबाटै मतदान गर्ने व्यवस्था नेपाल सरकारले मिलाउनु पर्ने बताउनु हुन्छ । रे टेलिभिजन एचडीका लागि रमेश हतुवालीसँगको सम्वादमा निश्चिल नेपालले व्यक्त गर्नुभएका विचारहरुको सार संक्षेप :

१. मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई कसरी हेर्नुभएको छ ?

मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मैले अत्यन्त महत्वका साथ हेरेको छु । उत्सुकतापूर्वक मंसिर ४ गते पर्खिरहेको छु । मंसिर ४ गते हुने निर्वाचनले नेपाललाई ५ वर्षसम्म शासन गर्ने पदाधिकारीहरुको छान्ने भएकोले यस निर्वाचनको ठूलो महत्व रहेको छ । निर्वाचन पछि बन्ने सरकारले नेपाली जनताको भाग्य रेखा कोर्ने, जनताका चाहना बमोजिमका विकास निर्माणका आयोजनाहरु अघि बढाउने, राज्य सञ्चालनका लागि विभिन्न कानूनहरु बनाउने भएकोले पनि यो निर्वाचनको महत्व छ र यसलाई हामी सबै नेपालीले भव्य रुपमा सम्पन्न गर्नुपर्छ भन्ने मेरो विचार हो ।

२. मंसिर ४ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर राजनीतिक दलहरु र स्वतन्त्र उम्मेदवारहरु यत्तिवेला जनताको घर घरमा गएर भोट मागि रहनु भएको छ । तपाई जस्ता लाखौं युवाहरु जो देश बाहिर बस्नु हुन्छ । तपाईहरुले निर्वाचनमा भोट मागिरहने उम्मेदवारहरुका कार्यक्रमलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

यत्तिवेला निर्वाचनले नेपाललाई छोपेको छ  । विहान सूर्योदय भएदेखि मध्यरातसम्म पनि चुनावको प्रचार प्रसार देख्न पाईन्छ । उम्मेदावरहरु घर घरमा भोट माग्न पुग्नु भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्टिय प्रजातन्त्र पार्टी लगायत दलका नेता र कार्यकर्ताहरु भोट माग्न व्यस्त हुनुहुन्छ । यस पटक धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारहरु पनि उठ्नु भएको छ । २०४६ साल पछि नेपालमा ठूला ठूला राजनीतिक परिवर्तन भए पनि देश र जनताको लागि राजनीतिक पार्टीहरुले समय अनुसार काम गर्न नसकेको गुनासो छ । पार्टीका कार्यकर्ताहरु र पार्टीका नेताहरुले मात्र अवसर पाउने तर सामान्य जनताको जीवनस्तर जहाँको त्यही हुने अवस्था छ । यो दुखको कुरो हो ।

नेपालका राजनीतिक दलहरु जनताप्रति उत्तरदायी नै हुन नसकेका हुन कि अथवा दलका नेताहरु पार्टी र पारिवारीक स्वार्थमा लागेका हुन जस्तो लाग्छ ।

३. मंसिर ४ गते हुने निर्वाचनलाई आधार बनाएर विभिन्न दलहरु र स्वतन्त्र उम्मेदवारहरुले चुनावी घोषणा पत्र जारी गर्नुभएको छ । ती घोषणापत्रहरु पढ्दा तपाई मनमा कुुनै कुराहरु थपिदिए हुन्थ्यो अथवा हाम्रा लागि यसो गरिदिए हुन्थ्यो भन्ने लाग्छ ?

मैले विभिन्न राजनीतिक पार्टीका घोषणा पत्रहरु पढेको छु । ती घोषणापत्रहरुमा नेपाललाई ५ वर्षभित्रमा विश्वकै सवैभन्दा विकसित र सम्पन्न देश बनाउने सम्मका कुराहरु पनि लेखिएका छन् । जनताको जीवनस्तर उकास्ने, देशका सबै क्षेत्रमा विजुली, यातायात, स्वास्थ्य सेवा, शिक्षा, खानेपानी पुर्याउने कुरा लेखिएका छन् । म विगत १० वर्षदेखि क्यानडामा छु । धेरै नेपाली दाजुभाइ दिदी बहिनीहरु अहिले रोजगारीको लागि मलेसिया, साउदी, कतार, दुवै, कुवेत जस्ता देशहरुमा हुनुहुन्छ । देशका रोजगारीको उचित अवसर नभएर अझ भन्नु पर्दा बाँच्ने अवस्था नै नभएर, समय अनुसार छोराछोरीलाई पढाउने अवस्था पनि नभएर हामीहरु विदेशीन बाध्य भएका हौं । देशका शासकहरुमा हाम्रो दु्ख र पीडा बुझ्ने शक्ति र योजना हुन्थ्यो भने हामीले विदेशीनु पर्दैनथ्यो । तर हाम्रो बारेमा केही सोचिएको छैन । चुनावमा युवाहरु भनेका देशका भविष्य हुन भनिन्छ तर युवाहरुका लागि कुनै योजनाहरु छैनन । कुनै नेताको ध्यान साउदी र कतारको ५० डिग्री तापक्रममा काम गरेर पैसा देशमा पठाउने युवातिर ध्यान गएको छैन ।

अहिले झण्डै ५० लाख युवा विदेशमा छौं । तर हामीले कु्नै पनि निर्वाचनमा भोट दिन विदेशबाट पाउदैनौं । विज्ञान र प्रविधीको विकास चरम अवस्थामा पुगेको बेला हामीले विदेशबाटै भोट दिन पाउनु पर्ने हो । तर हामी भोटदिन बाट बञ्चित छौं । यो कुरो कसले सुन्ने ? कुन राजनीतिक पार्टीको नेताले सुन्ने । एउटा सामान्य एप्लिकेसन बनाउँदा भोट दिन पाउने अवस्था हुन्छ तर यस विषयमा केपी ओली, माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्ड जस्ता नेताहरुको ध्यान गए जस्तो लाग्दैन । के ५० लाख युवाको सहभागीता नभएको निर्वाचन र हामीले भोट दिन नपाएर चुनाव जीत्ने नेताहरु बैधानीक नेता हुन त ? यो प्रश्न हो । देशलाई हामी विदेशबाट पैसा पठाउछौं । देशको अर्थतन्त्र चलाउछौं । तर हामीलाई चुनावको वेलामा वेवास्ता गरिन्छ । यो दुर्भाग्यको कुरो हो ।

४. वर्षेनी हजारौं शिक्षित युवा जनशक्ति नेपाल छोडेर अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान, वेलायत जस्ता देशमा जान्छन् । अरबौ रुपैया पनि लैजान्छन । पढ्नकै लागि भनेर जान्छन् तर कमै मात्र नेपाल फर्कन्छन किन होला ?

यो समस्या युवाहरुमा होइन देश हाँक्छु भनेर सत्तामा पुगेकाहरुको हो । अवसर र प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास जबसम्म राज्यले गर्दैन तबसम्म विदेशीनेहरुको संख्या घट्दैन । हाम्रो शिक्षा विकसित देशहरुको जस्तो गुणस्तरीय भए यही देशमा विदेशीहरु पनि अध्ययन गर्न आउँथे तर त्यसो हुन सकेको छैन । त्यसैले राज्यले शिक्षाको गुणस्तरमा वृद्धि गर्नुपर्छ । सीपमुलक तालिमको व्यवस्था गर्नुपर्छ । प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा जोड दिनु पर्छ । देशमै रोजगारीका अवसरहरु सृजना गर्नुपर्छ त्यसो भयो भने युवाहरु विशेषगरी शिक्षित युवाहरु विदेशीले परम्पराको अन्त हुन्छ ।

Facebook Comments