Sun. Jan 5th, 2025

स्थिर सरकारका लागि एमाले : अध्यक्ष ओली   

चितवन,  २०७९ कात्तिक २८ गते सोमबार । नेकपा एमालेका अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारका लागि आगामी निर्वाचनमा नेकपा एमालेले जित्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले चितवनले आज यहाँ आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले विगतमा स्थिर सरकार बन्न नसकेको भन्दै अब स्थिर सरकारका लागि एमालेलाई मतदान गर्नुपर्ने बताउनुभयो ।

जहाँ नेपाली त्यहाँ एमाले भन्दै उहाँले भन्नुभयो, “जो सँग भिजन, मिसन, नीति, कार्यक्रम योजना छ, त्यो सरकारमा जानुपर्छ”, जनतालाई कसरी सुखी र खुशी बनाउने, देशलाई सम्बृद्ध कसरी वनाउने त्यो ठाउमा कसरी पुग्ने भन्ने एमालेको उद्धेश्य रहेको भन्दै उहाँले थप्नुभयो, “जोसँग नीति छ त्यस्ले स्थिर सरकार बनाउँदै नीति कार्यान्वयन गर्न समय पाउनुपर्छ ।” सामाजिक न्याय र समानता सहीतको सम्वृद्धि नै समाजबाद भएको भन्दै उहाँले त्यसको प्राप्तीका निम्ति एक ढिक्का भएर अगाडि वढ्नु पर्ने बताउनुभयो । नेता कार्यकर्तालाई जनता बीचमा पुगेर आफ्ना नीति र कार्यक्रमको बारेमा जानकारी गराउन उहाँले निर्देशन दिनुभयो ।

पार्टी भत्र अब गुटवन्दी नरहेको भन्दै उहाँले भन्नुभयो, “अब पार्टीमा गुटबन्दी छैन । पार्टी एक ढिक्का छ । यो सत्य र तथ्यलाई मनन् गरेर अघि वढ्नुस् ।” देशमा लोकतन्त्र, विकास, सुशासनको मार्गमा अगाडि वढ्न जो सहमत हुन्छ उसँग एमाले सहमत हुने र सहकार्य गर्ने उहाँले बताउनुभयो । यसैअनुरुप पार्टी भन्दा बाहिरका उम्मेदवारलाई सहयोग गरिएको उहाँले बताउनुभयो । नेकपा एमालेको सरकार एमालेका लागि नभई आम जनताको खुशीका लागि भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एमाले आउँदो सरकारमा जानै पर्छ, चुनाबमा बहुमत ल्याउँनै पर्छ ।” देशलाई विभिन्न स्वार्थ समूहहरुले घेराबन्दीमा राखेको भन्दै उहाँले लोकतान्त्रिक गठवन्धनका नेताहरुको कडा आलोचना गर्नुभयो । देशका दुर्गम भूभागमा पुगेपछि आँफुलाई उर्जा मिलेको भन्दैं उहाँले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासको पक्षमा एमाले अघि वढ्ने बताउनुभयो ।
सभामा नेकपा एमालेका उपाध्यक्षद्धय रामबहादुर थापा र सुरेन्द्र पाण्डेले एमाले सरकारले गरेका कामहरु र एमाले सरकारमा आएपछि गर्ने कामहरुका बारेमा जानकारी गराउँदै अबको सरकार एमालेको बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णभक्त पोख्रेल, क्षेत्र नम्बर ३ मा एमालेले समर्थन गरेका उम्मेदवार दिनेश कोइराला, क्षेत्र नम्बर ३ ख मा एमालेका तर्फबाट उम्मेदवार सरस्वती बिष्ट, नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने लगायतले बोल्नुभएको थियो । रासस

Facebook Comments