Thu. May 2nd, 2024

राप्रपाका नेताद्वारा आफ्नो पार्टीलाई विजयी बनाउन अपिल   

काठमाण्डौं, २०७९ कात्तिक २७ गते आईतबार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले अघि सारेको एजेण्डाको आधारमा मतदान गरी विजयी बनाउन आह्वान गरेका छन् । सो पार्टीले शुक्रबार यहाँ आयोजना गरेको चुनावीसभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा शिक्षा, स्वास्थ्य, बेरोजगारीजस्ता समस्या समाधान गर्दै महङ्गी, भ्रष्टाचारको अन्त्य गर्न आफ्नो पार्टीलाई मतदान गर्न आह्वान गर्नुभयो ।

उहाँ भन्नुभयो, “राजनीतिक दलहरूले आफ्नो कार्यकर्ता भर्ती गर्ने होइन, योग्यता क्षमता, पारदर्शी ढङ्गले नियुक्ति हुने व्यवस्था मिलाउनु पर्दछ, एकपटक न्यायलयको पुनःसंरचना गर्नु पर्दछ, विश्वविद्यालयमा प्रधानमन्त्री, शिक्षामन्त्री, कुलपति, सहकुलपति हुने व्यवस्था खारेज गरेर योग्यता, क्षमता भएका मानिसलाई क्षमताको आधारमा कुलपति, सहकुलपति बनाउने व्यवस्था ल्याउनुपर्दछ ।”

अध्यक्ष लिङ्देनले स्वास्थ्य, शिक्षा, न्याय जस्ता विषय सबैका लागि समान र निःशुल्क हुनुपर्ने बताउँदै देशभित्र प्रशस्त उद्योगको स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । किसानलाई कृषि क्षेत्रमा दिइने ऋणको चुक्ता गर्ने अवधि १५ वर्ष पु¥याउनुपर्ने उहाँको भनाइ छ ।

नेता डा प्रकाशचन्द्र लोहनीले विगतका निर्वाचनमा ठूला राजनीतिक दलका नेतालाई निर्वाचित गर्दा मुलुकमा भ्रष्टाचार मौलाउँदै गएको भन्दै भ्रष्टाचार अन्त्यका निम्ति पनि आफ्नो पार्टीलाई बहुमतले विजयी बनाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाली जनताले ठूला राजनीतिक पार्टीलाई गरेको विश्वासको दुरुपयोग भएको छ, पाँच वर्षसम्म केही पनि गर्न सक्नुभएन, उहाँहरु राजनीतिक भागबण्डामा मात्रै रमाउनुभयो, अब यस पटकको निर्वाचनमा तपाईंले विचार गरेर मत हाल्नुपर्ने बेला आएको छ ।”

वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशको स्वाधीनता र अखण्डतालाई बचाउँदै मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका निम्ति आफ्नो पार्टीलाई मतदान गर्नुपर्नेमा जोड दिनुभयो । काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका उम्मेदवार मिश्रले काठमाडौँको कला र संस्कृतिको संरक्षणसँगै पुनःजागरणका निम्ति पनि एक पटकका लागि मन र मत परिवर्तन गरी आफूलाई मतदान गर्न अपिल गर्नुभयो ।

राप्रपाले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनलाई लक्षित गरी जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्रीजस्ता कार्यकारी पदमा बस्न नपाउने कानून बनाउने विषय राख्दै राष्ट्रिय घोषणापत्र सार्वजनिक गरेको छ ।

सङ्घीय र स्थानीय तहलाई बलियो पार्नुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने, २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्नुपर्ने, भ्रष्टाचारमुक्त, पारदर्शी शासन पद्धति व्यवहारमा लागू गर्ने राप्रपाको चुनावी प्रतिबद्धता छ ।

Facebook Comments