Thu. Dec 26th, 2024

सुदूरपश्चिममा निर्वाचनका लागि २५ हजार जनशक्ति   

बैतडी, २०७९ कात्तिक २६ गते शनिबार । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा स्वयंसेवकसहित करिब २५ हजार जनशक्ति परिचालन हुने भएको छ । निर्वाचनमा खटिने जनशक्तिलाई तालिम, मतपत्र र निर्वाचनमा आवश्यक पर्ने सामग्री तयार गर्ने तथा सिल गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार मतदान केन्द्रमा रहेका मतदाता सङ्ख्याको आधारमा निर्वाचनका लागि जनशक्ति खटाइने भएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी परिचालन गरिनेछन् ।

सुरक्षाकर्मीबाहेक स्वयंसेवकसहित गरेर प्रदेशभर २५ हजार जनशक्ति निर्वाचनका लागि परिचालन गर्ने तयारी भएको भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच सयसम्म मतदाता भएको केन्द्रमा स्वयंसेवकसहित ११ जना र पाँच सय बढी मतदाता भएको केन्द्रमा १२ जना खटाउने तयारी भएको छ ।”

सुदूरपश्चिम नौ वटै जिल्लामा गरेर दुई हजार एक सय ४६ मतदान केन्द्र र एक हजार एक सय ६१ मतदानस्थल कायम गरिएका छन् । यसका साथै प्रदेशरभर २२ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् ।

प्रदेशमा रहेका मतदातासङ्ख्याको आधारमा प्रत्येक जिल्लामा मतपत्र पनि पुगिसकेका छन् । मतपत्र र निर्वाचन सामग्री तयार गर्ने र सिल गर्ने काम अन्तिम चरणमा पुगेको भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “मतदातासङ्ख्याको पाँच प्रतिशत बढी मतपत्र यसअघि नै यहाँ पुगिसकेका छन् । मतपत्र र निर्वाचनमा आवश्यक पर्ने अन्य सामग्री प्याकिङ्ग तथा सिल गर्ने काम भइरहेको छ ।”

मतदान अधिकृत र सहायक मतदान अधिकृतो तालिम सञ्चालन भएको र उनीहरुको तालिमपश्चात मतपत्र र निर्वाचन सामग्री सम्बन्धित मतदानकेन्द्रमा ढुवानी गरिने जनाएको छ । आजदेखि मतपत्र र निर्वाचन सामग्री ढुवानीको काम शुरु हुने र मङ्सिर १ गतेभित्र सम्बन्धित मतदानकेन्द्रमा पुगिसक्ने भट्टले बताउनुभयो ।

सुदूरपश्चिममा १६ लाख ५८ हजार चार मतदाता रहेका छन् । यहाँ प्रतिनिधिसभाका लागि १६ र प्रदेशसभाका लागि ३२ निर्वाचन क्षेत्र रहेका छन् ।

निर्वाचनको मिति नजिकिएसँगै दलका उम्मेदवारले प्रचारप्रसारमा तीव्रता दिएका छन् । चुनावी ऐजेण्डाका साथ गाउँ पसेका उम्मेरवार मतादाता रिझाउन महत्वकांक्षी योजना बाढी रहेका छन् । रासस

Facebook Comments