Wed. May 15th, 2024

राजीव गान्धी हत्याका छ जना दोषीलाई रिहा गर्न सर्वोच्चको आदेश   

नयाँदिल्ली, २०७९ कात्तिक २५ गते शुक्रबार । पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्न भई आजीवन कारावासको सजाय भोगीरहेका छ जनालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नलिनी श्रीहरन र आरपी रविचन्द्रनसहित छ जनालाई रिहा गर्न सर्वोच्चले आज आदेश दिएको हो ।

अदालतले गान्धीको हत्याका दोषी लामो समयदेखि कारागारमा रहेका तथा उनीहरूको असल आचरणलाई दृष्टिगत गरी थुनामुक्त गर्न आदेश दिएको जनाइएको छ । “नलिनी तीन दशकभन्दा बढी समयदेखि जेलमा छिन् उनको आचारण पनि सन्तोषजनक छ, उनीसँग कम्प्युटर एप्लिकेशनमा पोष्ट ग्राजुएट डिप्लोमा छ । रविचन्द्रनको पनि आचारण सन्तोषजनक रहेको पाइएको छ, उनले पनि कला सङ्कायमा पोष्ट ग्राजुएट गरेका छन्,” सर्वोच्च अदालतले भनेको छ ।

तमिलनाडु सरकारले पनि उनीहरूको आजीवन कारावासको सजाय माफ गर्दै रिहाइका लागि सिफारिस गरेको थियो । संविधानको धारा १६१ अन्तर्गत प्राप्त अधिकारको प्रयोग गर्दै उनीहरूको रिहाइका लागि राज्यपालसमक्ष सिफारिस गरिएको थियो । गान्धीको हत्यामा संलग्न एक जनालाई तमिलनाडु सरकारले गरेको सिफारिसका आधारमा रिहा गरिएपछि नलिनीलगायतले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका थिए ।

सन् १९९१ को मे महिनामा तमिलनाडु राज्यको श्रीपेरुम्बुदुरमा भएको चुनाबी -यालीमा धनु भनेर चिनिने एक महिलाले आत्मघाती बम आक्रमण गरेर राजीव गान्धीको हत्या गरेकी थिइन् । रासस/एएनआई

Facebook Comments