तपाईं मत बदल्नुस्, हामी अवस्था बदल्छौँ : अध्यक्ष लिङ्देन
स्याङ्जाको वालिङमा शुक्रबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन । तस्बिरः तोलाकान्त बगाले, रासस
वालिङ, २०७९ कात्तिक २५ गते शुक्रबार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले मत बदले देशको अवस्था राप्रपाले बदल्ने बताउनुभएको छ ।
स्याङ्जाको वालिङमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले देशमा ठूला भनिएका पार्टी तथा नेतालाई धेरै पटक विजयी बनाए पनि देशको अवस्था उही रहेकाले एकपटक राप्रपालाई मतदान गर्न आग्रह गर्नुभयो ।
“कांग्रेस, कम्युनिष्टलाई धेरै पटक विजयी बनाउनुभयो, मत बदल्नुभएन र देशको अवस्था उही रह्यो”, उहाँले भन्नुभयो, “एकपटक मनलाई मतसँग जोड्नुहोस् र मत बदल्नुहोस्, हामी देशको अवस्था बदल्छौँ ।”
आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन आवधिक मात्रै नभई असल पार्टी र नेता चुन्नुपर्ने उहाँको भनाइ थियो ।
“यो निर्वाचन आवधिक निर्वाचन मात्रै होइन, असल पार्टी र नेता चुन्नेमात्रै होइन, विगतको समीक्षा र भविष्यको माग तय गर्ने महत्त्वपूर्ण अवसर पनि हो”, उहाँले भन्नुभयो, “अहिलेसम्मका निर्वाचनमा ठिक पार्टी र ठिक नेता चुन्न नसकेकै कारण दुःख पायौँ, अझै कति दुःख पाइरहने हो ? सोच्नुस् यो पटक ।”
देशलाई यो अवस्थामा पु¥याउनुको पछाडि पार्टी र नेतामात्रै दोषी नभई गर्दै गर्दैनन् भनेर जानीजानी उसैलाई मत दिने मतदाता पनि दोषी रहेको उहाँले बताउनुभयो ।
“कन्यादान दिने कुरा कति पटक सोच्छौँ, के हुने हो, कस्तो घर पर्ने हो, भन्दा भन्दै त कहिलेकाहीँ झुक्किन्छौँ”, उहाँले भन्नुभयो, “मतदान झन ठूलो दान हो तपाईंको गलत निर्णयले तपाईंमात्रै होइन समाज र राष्ट्र नै बिग्रन सक्छ बेलैमा सचेत हौँ ।”
हिजो अर्को देशलाई सहयोग गर्ने देश आज मागी खाने, थापी खाने देशका रूपमा चित्रित भएको भन्दै उहाँले देशमा हाल रहेका तीन वटा सरकारलाई दुई वटामा झार्नुपर्ने बताउनुभयो ।
“म कहिले पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई गर्न पनि दिन्नँ”, उहाँले भन्नुभयो, “भ्रष्टाचारी प्रवृत्तिमाथि डोजर चलाउने मन छ, म एक्लै संसद्मा पुगेर आवाज पुगेन, अरु पनि साथी सहयोगी पठाइदिनुहोस् भन्न स्याङ्जा आएको हुँ, तपाईंको सहयोग माग्न आएको हुँ ।”
चुनावीसभामा अभिनेत्री मनिषा कोइरालाले बिपीले अगाडि सार्नुभएको विचारजस्तै अहिले राप्रपाका विचार पनि मिल्ने भएकाले आफू पनि राप्रपाकै साथमा रहेको बताउनुभयो । चुनावीसभामा राप्रपाबाट स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार लालगोपाल अर्याल, प्रदेश (१)का उम्मेदवार सागर गैह्रे, प्रतिनिधिसभाको समानुपातिकका उम्मेदवार देवी पराजुलीलगायतले सम्बोधन गर्नुभएको थियो ।

