Sat. Jan 11th, 2025

एसियाली विकास बैंकले ओखर र फलफूलमा लगानी गर्ने   

नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सोमबार अर्थ मन्त्रालयमा हस्ताक्षरका क्रममा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइस। तस्बिर : रत्न श्रेष्ठ, रासस

काठमाण्डौं, २०७९ कात्तिक २१ गते सोमबार । नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइस बीच त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार, बैंकले साधारण पूँजी संशोधनबाट करिब रु सात अर्ब ७९ करोड सहुलियत ऋण र एसियाली कोषबाट करिब रु एक अर्ब ३० करोड अनुदान व्यहोर्ने छ ।

राससका अनुसार परियोजनाका लागि बैंकले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट रु एक अर्ब १७ करोड खर्च र नेपाल सरकारले करिब एक अर्ब ८८ करोड लगानी गर्नेछ ।

उक्त परियोजनाबाट प्रदेश नं १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ३० हजार घरपरिवार लाभान्वित हुनेछन् । सम्झौता अनुसार, जलवायु सहन सक्ने ओखर र फलफूल प्रजातिका बोटबिरुवा १० हजार हेक्टरमा लगाइनेछ ।

Facebook Comments