Thu. Apr 25th, 2024

उदाउँदो सूर्यलाई अध्र्य दिंदै आज भव्य रुपमा छठ पर्व सम्पन्न

बागमती नदी किनारमा ब्रतालुले सोमबार बिहान उदाउदै गरेको सूर्यलाई अघ्र्य दिँदै । तस्बिर: किरणराज बिष्ट/रासस

भिओके समाचार काठमाण्डौं, २०७९ कात्तिक १४ गते सोमबार । आज विहान उदाउँदोे सूर्यलाई अध्र्य दिंदै काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा छठपर्व भव्य रुपमा सम्पन्न गरिएको छ । छठ पर्वको अधिल्लो दिन वेलुकी अस्ताउँदो सूर्यलाई अध्र्य दिईने र त्यसको भोली पल्ट उदाउँदो सूर्यलाई अध्र्यदिएर व्रत सम्पन्न गर्ने परम्परा अनुसार मानिसहरु आज विहान सूर्योेदय हुनुभन्दा निक्कै अघि जलासय तर्फ लागिरहेको दृश्य आज यत्रतत्र देखिन्थ्यो ।

बागमती नदी किनारमा ब्रतालुले सोमबार बिहान उदाउदै गरेको सूर्यलाई अघ्र्य दिँदै । तस्बिर: किरणराज बिष्ट/रासस

काठमाडौं उपत्यकाका कमलपोखरी, गुह्यश्वरीस्थित बागमती नदीको किनार, जनकपुरको जनकपुरधाम, विराटनगरको सिंगिया खोला, सुनसरीको सुन्सरी खोला, झापाको मेची र माईनदी, राजविराज, वीरगञ्जको घडिअर्वा पोखरी, नेपालगञ्ज, महेन्द्रनगर, पोखराको फेवातालक्षेत्र लगायत देशभरका नदी, खोला, तालतलैया, पोखरी र नहरका किनाराहरुमा आज लाखौं भक्तजनहरुको घुईचो रहेको थियो ।

छठ पर्वको सोमबार अन्तिम दिन जनकपुरधामको कुवारामपुरस्थित पोखरीको छठ घाटबाट देखिएको उदयमान सूर्य र अघ्र्य दिँदै बर्तालु । तस्बिर : अजयकुमार साह, रासस

श्रद्धालु भक्तजन, ब्रतालु तथा स्थानीयवासीहरु बिहान ३ वजेदेखि नै केरा, उखु, नरिवल, मुला, बेसार, ठेकुवा, भोगटे, अदुवा लगायतका विभिन्न पूजा सामग्रीहरु बोकेर नदी किनारा र घाटहरुमा जाँदै गरेको दृश्य देख्न पाईन्थ्यो ।

छठ पूजाका अवसरमा बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित बुद्धनगरमा रहेको खोलामा सोमबार बिहान उदाउँदो सूर्यको पूजा आराधना गरी जल चढाउँदै व्रतालुु महिला । तस्बिर : सुमित्रा अधिकारी, रासस

छठपर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आईतबार बेलुकी काठमाडौंको गौरीघाट र कमलपोखरीमा पुगेर अस्ताउदो सूर्यलाई अध्र्य दिनुभएको थियो ।

नुवाकोटको त्रिशूलीस्थित त्रिशूली नदी किनारमा सोमबार बिहान छठ पूजा गरिँदै । विभिन्न कामको सिलसिलामा तराईबाट नुवाकोट आएर बसेकाहरुले हरेक वर्ष त्रिशूली नदी किनारलाई सिँगारेर छठ पूजा गर्दै आएका छन् । तस्बिर : नवदीप श्रेष्ठ, रासस

सन्तान प्राप्ति, सम्पन्नता, आरोग्यता, सुख एवम् समृद्धिको लागि छठ पर्वको अवसरमा छठीमाई र सूर्यको कठोर व्रत वस्ने परम्परा रहँदै आएको छ । तराई मधेसमा मात्र सिमित रहेको छठ पर्व पछिल्ला वर्षहरुमा काठमाडौं उपत्यका लगायत देशभर भव्य रुपमा मनाउन थालिएको छ । छठ पर्वको अवसरमा सरकारले देशभर एकदिन सार्वजनिक विदा दिने गरेको छ भने मधेस प्रदेश सरकारले यस पटक दुई दिन विदा दिएको छ ।

Facebook Comments