Wed. Dec 25th, 2024

अस्ताउँदो सूर्यलाई अध्र्य दिंदै छठ पर्व मनाईयो (फोटो फिचरसहित)

- छठपर्व, २०७९

काठमाण्डौं, २०७९ कात्तिक १३ गते आईतबार । अस्ताउँदो सूर्यलाई अध्र्य दिंदै आज भव्य रुपमा छठ पर्व मनाईएको छ ।

छठपर्वको अवसरमा आज साँझ अस्ताउँदो सूर्यलाई अध्र्य दिंदै काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न भागमा छठपर्व भव्य रुपमा मनाईएको छ । छठ पर्वको दिन वेलुकी अस्ताउँदो सूर्यलाई अध्र्य दिईने र त्यसको भोली पल्ट उदाउँदो सूर्यलाई अध्र्यदिएर व्रत सम्पन्न गर्ने परम्परा अनुसार मानिसहरु दिउसैदेखि जलासय तर्फ लागिरहेको दृश्य आज यत्रतत्र देखिन्थ्यो ।

काठमाण्डौं उपत्यकाका कमलपोखरी, गुह्यश्वरीस्थित बागमती नदीको किनार, जनकपुरको जनकपुरधाम, विराटनगरको सिंगिया खोला, सुनसरीको सुन्सरी खोला, झापाको मेची र माईनदी, राजविराज, वीरगञ्जको घडिअर्वा पोखरी, नेपालगञ्ज, महेन्द्रनगर, पोखराको फेवातालक्षेत्र लगायत देशभरका नदी, खोला, तालतलैया, पोखरी र नहरका किनाराहरुमा आज लाखौं भक्तजनहरुको घुईचो रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी काठमाण्डौंको गौरीघाट पुगेर अस्ताउदो सूर्यलाई अध्र्य दिनुहुँदै

श्रद्धालु भक्तजन, ब्रतालु तथा स्थानीयवासीहरु दिउँसो २ वजेदेखि नै केरा, उखु, नरिवल, मुला, बेसार, ठेकुवा, भोगटे, अदुवा लगायतका विभिन्न पूजा सामग्रीहरु बोकेर नदी किनारा र घाटहरुमा जाँदै गरेको दृश्य देख्न पाईन्थ्यो ।

छठपर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाण्डौंको गौरीघाट र कमलपोखरीमा पुगेर अस्ताउदो सूर्यलाई अध्र्य दिनुभएको छ ।
सन्तान प्राप्ति, सम्पन्नता, आरोग्यता, सुख एवम् समृद्धिको लागि छठ पर्वको अवसरमा छठीमाई र सूर्यको कठोर व्रत वस्ने परम्परा रहँदै आएको छ ।

Facebook Comments