Mon. Dec 23rd, 2024

तिहारको अन्तिम दिन आज भाइटिका

- उत्तम साइत बिहान ११ः३७ बजे

काठमाण्डौं, २०७९ कात्तिक १० गते बिहीबार । तिहारको पाँचौँ तथा अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । भाइटीकाका दिन दिदीबहिनीबाट विधिपूर्वक टीका लगाई दाजुभाइको दीर्घायु ऐश्वर्य सुख शान्ति र समृद्धि कामना गर्ने चलन छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

भाइटिका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताउनुभयो । आज दिनभर भाइटिका लगाउन कुनै समस्या नरहेको उहाँले सुनाउनुभयो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।

यस वर्ष भाइटिका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् ।

बिहान ८ः४२ बजेपछि चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्ने छन् । त्यसअघि चन्द्रमा तुला राशिमा रहने छन् । तुलामा चन्द्रमा भएका बेला पनि सोहीअनुसार टीका लगाउन सकिने छ ।

आज टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

साना भाइबाट सुरु गरेर क्रमश ठूलालाई लगाइदिने भएर यसलाई भाइटीका भनिएको हो । भाइटीका लगाउँदा मण्डप बनाई, दीयो बालेर फलफूल तिहारे फूल, ओखर, बिमिरो, कट्टुस राखेर अष्टचिरञ्जीवी मार्कण्डेय, बली, परशुराम, व्यास, हनुमान, विभीषण, कृपाचार्य र अश्वत्थामाको पूजा गरिन्छ । मण्डपमा यमराज, यमुनाको समेत पूजा गरी रङ नउड्ने सयपत्री, गोदावरी र कहिल्यै नओइलाउने मखमली फूल, सधैँ फेलिइरहने दुबो, नसुक्ने तोरी तेलको घेराभित्र राखेर दिदीबहिनीले दीर्घायुको कामना गरी दाजुभाइलाई शुभसाइतका प्रतीक पाँच वा सात रंङको टीका लगादिए अकाल मृत्यु नहुने विश्वास छ । यमुनाले दाजु यमराजलाई विशेष सम्मानपूर्वक पूजाआजा गरी टीका लगाइदिएकीले त्यसै कार्यको सम्झनास्वरुप वर्षैपिच्छे भाइटीका लगाउने परम्परा बसेको पौराणिक कथन छ । निधारमा सात रङको इन्द्रेणी टीका लगाई सयपत्री मखमली तथा गोदावरी फूलको माला लगाइदिने चलन छ ।

आजको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमली र दूबोको माला, कटुस आदिको प्रयोगमा दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य र दीर्घायुको कामना गर्छन । तिथि घटबढका कारण केही नेवार समूदायले भने भोलि भाइटीका लगाउँदैछन् ।

तिहारको टीकाका दिन आफ्ना दिदीबहिनी नहुनेले काकाकी वा मामाकी वा मीतबाउकी छोरीबाट भए पनि टीका लगाउनुपर्छ भन्ने चलन छ । निधार खाली राख्नुहुँदैन भन्ने गरिन्छ । कुनै उपाय नलागे तुलसीको मठमा गई तुलसीकै काठले आफैँले भए पनि टीका लगाउनुपर्ने मान्यता छ । दिदीबहिनी तथा दाजुभाइ नहुनेले काठमाडौंको रानीपोखरी माझ रहेको यमलेश्वर महादेव मन्दिरमा गई दर्शन गरी भाइटीका लगाउने चलन छ । यो मन्दिर वर्षको एकदिन भाइटीकामा मात्र सर्वसाधारणलाई खुला गरिन्छ । नेवारी समुदायमा यस दिनलाई किजापूजा भन्ने चलन छ ।

घरघरमा भाइटीका लगाउने कार्य सम्पन्न भएपछि सबैसँगै बसेर सेल रोटी, अनरसा, झिलिंङालगायत परम्परागत परिकारका साथै आधुनिक मिठाइ मसलासमेत खाने गरिन्छ । खाना खाइवरी नजिकै हालिएको लिङ्गे पिङ, रोटे पिङ खेल्न जाने चलन छ । टीकाका दिन पिङ खेलेर खुशी भई भूइँ छाड्नुपर्छ भन्ने गरिन्छ । साँझ घरघरमा गई श्रीसम्पत्तिको कामना गरी देऊश्री भन्दै देउसी खेलिन्छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन अर्थात भाइटीकाको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला

दिदी-बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दछ ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटिकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर भक्तजनका लागि खुला गर्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

खञ्जनेश्वर महादेवमा भक्तजन

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा र दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव डा. गोविन्द टण्डनले राससलाई जानकारी दिनुभयो ।

“वि.सं. २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हाम फाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदी-बहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदी-बहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटिकाका दिन भक्तजनको भीड लाग्छ”, उहाँले भन्नुभयो ।

वि.सं. २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । सात वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि वि.सं. २०७७ सम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो । बालगोपालेश्वर मन्दिर भूकम्पपछि वि.सं. २०७७ देखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो ।

भाइटिकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायमा कूल परम्पराअनुसार कसैले आज र कसैले भोलि भाइटिका अर्थात् किजापूजा मनाउँछन् । रासस

Facebook Comments