Thu. Apr 25th, 2024

प्रचण्ड, बाबुराम, केपी र माधवहरू सच्चा कम्युनिस्ट होइनन् : बिजुक्छे

भिओके समाचार, काठमाण्डौं, २०७९ कात्तिक ८ गते मंगलबार । मजदुर किसान पार्टीले मंगलवार प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि  घोषणापत्र सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, केपी शर्मा ओली र माधवकुमार नेपालहरू सच्चा कम्युनिस्ट नभएको टिप्पणी गर्नुभएको छ ।

अध्यक्ष बिजुक्क्छेले उहाँहरू सरकारमा रहदा कम्युनिस्टले गर्ने काम र निर्णयहरू नगरेको भन्दै उहाँहरूलाई कम्युनिस्टको दर्जा दिन नमिल्ने टिप्पणी गर्नुभएको छ । उहाँहरू कम्युनिस्ट साँच्चै भएको भए एमाले, माओवादी, एकीकृत समाजवादी वा अरूले सरकारमा गएपछि उत्पादनलाई सामाजिकीकरण गर्ने, व्यक्तित्व विकासमा सबै जनतालाई समान अवसर दिने, योग्यता अनुसारको काम दिने काम गर्थे तर उनीहरूले केही पनि नगरेको आरोप लगाउनु भएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्क्छेले आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रूपमा लिएको बताउनुभएको छ । उहाँले ब्यारोमिटरको पारो तल झर्दा आँधीबेहरी आउने सङ्केत भएजस्तै चुनावमा आफ्नो पार्टीको मत माथि भएमा क्रान्तिको सम्भावना रहेको जिकिर गर्नुभयो ।

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष बिजुक्छेले आफ्नो पार्टी देशमा बनेका दुवै गठबन्धनमा जानु गलत सावित हुने भएकाले एक्लै चुनावमा आएको बताउनुभएको छ । उहाँले गठबन्धनमा मिसिने कुरालाई फोहर पानीमा नुहाएर सफा हुन नसकिने बताउनुभएको छ । उहाँले गठबन्धनका दलहरूले झुटा कुरा र लोभ लालच देखाएर भए पनि मत लिनेमात्रै भएको बताउनुभयो । मत पाएपछि पुनः सरकारमा गएर गलत सन्धि सम्झौताहरू गर्ने उद्देश्य दुवै गठबन्धनका दलहरूको रहेको उहाँको भनाइ छ ।

उहाँले मजदुर किसान पार्टीको दुई, चार मत ल्याउने उद्देश्य भन्दा पनि चुनावलाई जनताको बीचमा, देशको परिस्थिति र अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा जानकारी गराउनका निम्ति प्रयोग गरेको बताउँनुभएको छ ।

Facebook Comments