चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको अध्यक्षमण्डलको तेस्रो बैठक सम्पन्न, भोलि बिहान महाधिवेशनमा औपचारिक निर्वाचन गरिने
- महाधिवेशनको छैठौें दिन
भिओके समाचार काठमाण्डौं, २०७९ कात्तिक ४ गते शुक्रबार । चीनको राजधानी पैचिङमा जारी चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशन अन्तर्गत आज २०औँ महाधिवेशनको अध्यक्षमण्डलको तेस्रो बैठक सम्पन्न भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङको अध्यक्षतामा सम्पन्न बैठकमा २०औँ केन्द्रीय समितिका सदस्यहरू, वैकल्पिक सदस्यहरू र केन्द्रीय अनुशासन निरीक्षण आयोगका सदस्यहरूको नामावली (मस्यौदा) पारित भइ ती नामावलीहरूलाई विभिन्न प्रतिनिधिमण्डलहरुका बीचमा छलफलको लागि प्रस्तुत गरिएको छ । सीएमजीबाट प्राप्त समाचार अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ कार्यसमितिको लागि भोलि बिहान निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीको जारी महाधिवेशनले तेस्रो कार्यकालका लागि पनि वर्तमान महासचिव सी चिनफिङलाई नै निर्वाचित गर्ने संकेत गर्नुभएको छ । रे टेलिभिजनसँग कुराकानी गर्नुहुँदै कुटनीतिज्ञ श्रेष्ठले अमेरिकाको शीतयुद्धको मानसिकता र हिन्द-प्रशान्त रणनीतिमार्फत चीनलाई घेराबन्दी गर्ने नीतिकै कारण चीनलाई जोगाउन र अमेरिकी चुनौतीसँग डटेर लड्न सक्ने नेतृत्वको आवश्यकता महसुस गर्दै सी चिनफिङलाई तेस्रो कार्यकालको लागि निर्वाचित गर्न लागिएको बताउनु भयो ।
कुटनीतिज्ञ श्रेष्ठले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन जो पहिलो हुने दिशामा अग्रसर हुँदैछ, त्यसलाई कार्यान्वयन गर्ने दस्तावेजको रुपमा आफुले सी चिनफिङको प्रतिवेदनलाई लिएको बताउनु भयो ।