Fri. Apr 26th, 2024

अजिता भुजेल हत्या प्रकरण: ब्याट्रिको तारले घाँटीमा कसेर हत्या गरेको साबिती बयान

हेटौडा, २०७६ माघ २१ गते मंगलबार

अपराधीले जतिसुकै चलाख किन नहोस् उसले केही प्रमाण छोडेकै हुन्छ । हत्या गरिएको व्यक्तिको मोबाइल अपराधीले बोकेर लगेपछि सोही मोबाइलकै आधारमा प्रहरीले हत्याको आरोपमा पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

अल्पसंख्यक तेस्रो लिङ्गीको अधिकारको क्षेत्रमा क्रियाशील हेटौँडा उपमहानगर–११ की अजिता भुजेलको हत्या भएको प्रहरीले पत्ता लगाएको छ । माघ ३ गते राति हत्या गरी फालिएकी भुजेलको शव हेटौँडा ५ स्थित क्याम्पाडाँडामा माघ ४ गते फेला परेको थियो ।

भुजेलले बोक्ने मोबाइलको प्राविधिक अनुसन्धानलाई अघि बढाउँदा माघ २० मोबाइलकै आधारमा घटना पत्ता लगाई अपराधमा संलग्नहरुलाई समेत पक्राउ गरी मंगलबार सार्बजनिक भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुसीलसिंह राठौरले बताउनुभयो ।

प्रहरीका अनुसार भुजेलले बोक्ने मोबाइल हेटौँडा उपमहानगरपालिका ११ बस्ने एलिशा पाख्रीनको साथबाट फेला पारिएपछि सोधखोज हुँदै जाँदा घटना सार्बजनिक भएको हो । एलिसाले आफूलाई हेटौँडा ४ का आशिष बलले मोबाइल दिएको बताएपछि प्रहरीले आशिषलाई पक्रेको थियो । आशिषले पनि हेटौँडा ४ का बुद्ध लामाले आफूलाई मोबाइल दिएको बताएपछि लामालाई प्रहरीले पक्राउ गरेको थियो । लामाले पनि हेटौँडा हेटौँडा ४ का ट्रकका सहचालक सिमोन परियारबाट प्राप्त गरेको बताएपछि प्रहरीले परियारलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा परियारले साथीहरुसहित भुजेलको सामूहिक बलात्कारपछि हत्या गरेको स्वीकारेका हुन् । परियारले दिएको बयान अनुसार माघ ३ गते राति ना ६ ख ६५२७ नंको ट्रक चलाएर हेटौँडा बसपार्क हुँदै हेटौँडा ११ थानाभ-याङ पुगेका थिए । त्यस क्रममा हेटौँडा ४ का सुशील थापा समेत साथ लागी हेटौँडा ११ थानाभ-याङ पुग्दा तेस्रो लिंगी अजिता भुजेलसँग भेट भए पछि यौनसम्पर्कका लागि बार्गेनिङ भएको पाइएको प्रहरीले जनाएको छ ।

भुजेलसँग ट्रकको क्याबिनमै सामूहिक शारीरिक सम्पर्क भएपछि पैसा दिने बिषयमा भुजेलसँग विवाद भएपछि थापाले ट्रकमा रहेको बिजुलीको तारले घाँटीमा कसेर हत्या गरेको बयान दिएका छन् । भुजेलको मृत्युपछि क्याम्पाडाँडामा लगेर लाशलाई फालिएको उनीहरुले बयान दिएको प्रहरीले जानकारी गराएको छ ।

प्रहरीले घटना अनुसन्धानका लागि २५० जना व्यक्तिहरुसँग सोधपुछ गरेको थियो । घटनामा संलग्न देखिएका परियार, थापासहित, आशिष बल, बुद्ध लामा र एलिशा पाख्रीनलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । परियार, थापा, लामा र बलले भुजेलसँग शारीरिक सम्पर्क राखेको प्रहरीले दाबी गरेको छ । अपराध पुष्टि भएमा मुलुकी अपराध ऐन २०४७ को ज्यान सम्बन्धी कसुरमा अपराधमा संलग्न हुनेहरुलाई जन्मकैद समेत हुन सक्ने ब्यवस्था रहेको छ भनि गोरखापत्र अनलाईनले समाचार प्रकाशित गरेको छ ।

Facebook Comments