Tue. Dec 24th, 2024

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डौं, २०७९ असोज ३१ गते सोमबार । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा भोलि मंगलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिदासँगै सबै सरकारी कार्यालय, सार्वजनिक संघ, संस्था र विदेशस्थित कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा पनि झुकाइने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिने निर्णयबारे जानकारी गराएको हो । जोशीको १०३ वर्षको उमेरमा उपचारका क्रममा हिजो बिहान निधन भएको थियो ।

जोशीको शव ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरिएको छ । उहाँको पार्थिव शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै अध्ययनका लागिराखिने अस्पतालले जनाएको छ । जोशीले आफ्नो शरीर उक्त अस्पताललाई दान गर्ने घोषणा गर्नुभएको थियो ।

Facebook Comments