Tue. Dec 24th, 2024

बढ्दो मूल्यले हाइटीमा नागरिक अशान्ति : संयुक्त राष्ट्रसंघ

जेनेभा, २०७९ असोज ३० गते आईतबार । बढ्दो खाद्यान्न र इन्धनको मूल्यले हाइटीमा बढ्दो नागरिक अशान्ति निम्त्याए सँगै, विश्व खाद्य कार्यक्रम र अन्य संयुक्त राष्ट्र एजेन्सीहरूले चेतावनी दिएका छन् ।

एक प्रेस ब्रीफिंग मार्फत डब्लुएफपीका लागि हाइटीका स्थानीय निर्देशक जीन मार्टिन बाउरले देशले खाद्य असुरक्षा र मानवीय प्रकोपमा चिन्ताजनक प्रवृत्तिको सामना गरिरहेको बताउनु भयो ।

देशमा ३० प्रतिशतको मुद्रास्फीति २० वर्ष यताकै सबैभन्दा खराब रहेको र खाद्य मुद्रास्फीति विशेषगरी खराब रहेको निर्देशक मार्टिनले बताउनु भएको छ ।  अगस्टमा खाद्यान्न टोकरीको मूल्य एक वर्ष अघिको तुलनामा ६३ प्रतिशतले बढी रहेको छ ।

उहाँले शुक्रबार जारी गरिएको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) प्रतिवेदनलाई उद्धृत गर्दै मुलुकमा खाद्य असुरक्षाको गम्भीरता र सीमा झन् झन् बिग्रँदै गएको बताउनु भएको छ ।

प्रतिवेदनका अनुसार मुलुकमा ४७ लाख जनता तीव्र खाद्य असुरक्षा र १८ लाख जनता आपतकालीन खाद्य असुरक्षाको सामना गरिरहेका छन्, जुन ६ महिना अघिको तुलनामा क्रमशः २ लाख र ५ लाखले बढेको छ ।

संयुक्त राष्ट्र बाल कोषका जेम्स एल्डरले हाइटीमा पाँच वर्ष मुनिका करिब एक लाख बालबालिका कुपोषणबाट पीडित रहेको बताउनु भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रवक्ता मार्गरेट ह्यारिसले हाइटीको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार शुक्रबारसम्म ३५७ जना हैजाका भएका बिरामी र २१ जनाको मृत्यु भएको बताउनु भएको छ । एजेन्सी

Facebook Comments