Sat. Apr 20th, 2024

नेपाल टेलिभिजनले ३५औं वार्षिकोत्सव मनायो, अङ्ग्रेजी च्यानल सञ्चालनमा ल्याइने सञ्चारमन्त्रीको भनाई

काठमाडौं, २०७६ माघ २० गते सोमबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यसै आर्थिक वर्षभित्र नेपाल टेलिभिजनको अङ्ग्रेजी विश्व च्यानलको शुभारम्भ गराइने घोषणा गर्नुभएको छ । सो टेलिभिजनको ३५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले राष्ट्रको छवि माथि उठ्ने नयाँ कामका रुपमा सो परियोजनालाई लिएर आगामी छ महिनाभित्र ‘एनटिभी वल्र्ड’ शुभारम्भको तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिनुभयो । उहाँले सोका लागि सरकारले बजेट र आवश्यक सहयोग गर्ने आश्वासन पनि दिनुभयो । सो टेलिभिजनका हाल पाँच च्यानल प्रसारण भइरहेका छन् ।

मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान र रेडियो नेपाल सरकारी सञ्चारमाध्यम नभई जनता र राज्यको माध्यम तथा सम्पत्ति भएको उल्लेख गर्दै मुलुकको आधिकारिक सूचना र भिडियोलाई विदेशीले हेर्नुपर्दा नेपाल टेलिभिजनबाट हेर्नुपर्ने गरी उक्त नयाँ च्यानलबाट हेर्ने गरी सङ्कल्प लिनु अत्यावश्यक भएको जनाउनुभयो । उहाँले भन्नुभयो, “यी संस्था जनता र राज्यका सम्पत्ति हुन् । यसलाई हेर्ने आँखा बदलिनुपर्छ । यही हाम्रा देशका केही धरोहरभित्र पर्छन् । घोषणा र तयारी गरेपछि सबै कुरा सम्भव छ । न्यायपूर्ण समाजको परिकल्पना वा समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न सम्भव छ ।”

मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले भने जस्तै हरेक दिन नयाँ फड्को र नयाँ प्रगति हासिल गर्न कर्मचारी र पत्रकारलाई मौरी झैँ काम गर्न आग्रह गर्नुभयो । उहाँले नयाँ उत्साह र उमङ्गका साथ आफ्ना प्रभाव र पहुँच विस्तार गर्दै यही माघ १७ गते इटहरी च्यानलको शुभारम्भ भएकामा बधाई दिनुभयो । नेपाली इतिहासको यो पहिलो टेलिभिजन भएपछि अब जनता र दर्शकको छनोटमा पहिलो हुनु यसको चुनौती भएको उल्लेख गर्दै उहाँले यसपल्ट संस्थाले यस वर्षका लागि व्यापारिक कारोवारका घोषित लक्ष्य पूरा हुने दिशामा अग्रसर भएकामा व्यवस्थापनलाई बधाई दिनुभयो ।

“अब यो बाँच्ने भयो । हाम्रा संस्थाहरुको आर्थिक जीवन स्वस्थ्य नहुँदासम्म सुकेनासले समात्छ । टेलिभिजन आर्थिक सुकेनासबाट भने जोगियो । प्रविधिको रुपान्तरणसँगै पहुँचको विस्तारका लागि आफ्ना लगानीहरु केन्द्रित गर्न आवश्यक छ”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “अब मान्छेको मान जित्नुपर्छ । यसमा लोकसेवामा जाँच दिए जस्तो हुँदैन । उत्कृष्ट कार्यक्रम सञ्चालन गरेर दर्शकको मन जित्न सक्ने यसको क्षमता यसले विकास गर्नुपर्छ । दर्शकको मनोविज्ञानले के खोजेको छ, त्यसबारे अनुसन्धान हुन जरुरी छ । सरकार जोडिएका अधिकांश यस्ता संस्थाहरुमा मानवीय स्रोत व्यवस्थापनका चुनौतीको सामना गर्न आवश्यक छ ।”

सो अवसरमा संस्थाका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले पहुँच र विषयवस्तुमा सुधारका लागि यस वर्ष योजनाबद्ध काम भइरहेको जानकारी दिँदै प्रस्तुतिका शैली र विषयवस्तुको विविधीकरण गरिएको बताउनुभयो । उहाँले सञ्चारमाध्यमले समाजमा सकारात्मकताको सन्देशका साथ आलोचनात्मक दृष्टिकोण पस्कनुपर्ने विचार पनि राख्नुभयो । महाप्रबन्धक गोविन्द रोक्काले नेपाल टेलिभिजनले आफूलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्दै राज्यलाई सेवा दिइरहेको बताउनुभयो ।

सञ्चालक समितिका सदस्य टङ्क पन्तले नेपाल सरकारको सहयोगका कारण नेपाल टेलिभिजनले हरेक वर्ष नयाँ नयाँ विकास गर्न सकेको उल्लेख गर्दै पहुँच र विषयवस्तुमा अझै सुधार गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ, टेलिभिजन शाखाका अध्यक्ष निराजन खनालले मुलुककै अग्रणी टेलिभिजनले इटहरी प्रसारणको शुभारम्भसँगै आफूलाई पाँचौँ च्यानलमा विस्तार गरेकामा खुशी व्यक्त गर्नुभयो ।

एनटिभीको मोबाइल एप शुभारम्भ

मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजन मोबाइल एपको शुभारम्भ गर्नुभयो । सो एपमा लाइभ टिभी, टिभी सो, भिडियो अन डिमान्ड र न्युज फिचर समावेश छन् । सो टेलिभिजनका हाल पाँच च्यानल हाई डिफिनिशन ९एचडी० प्रविधिमा छन् ।

कार्यक्रममा संस्थामा २० र ३० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई दीर्घसेवा पदक र सेवानिवृत्त कर्मचारीलाई सम्मान तथा विभिन्न विधामा उत्कृष्ट पत्रकार तथा कर्मचारीलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट सार्वजनिक महत्वका सूचनादाता, विज्ञापनदाता, व्यापारिक कारोवारकर्ता र वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयीलाई पनि पुरस्कार प्रदान गरियो । सो अवसरमा टेलिभिजनको स्मारिका लोकार्पण गरिएको थियो । संस्थालाई प्रविधि रुपान्तरणमा अगुवाइ गर्ने इञ्जिनीयरिङ शाखा प्रमुख चिन्तामणि बराललाई पनि सम्मान गरियो ।

यसैगरी यस वर्षको उत्कृष्ट कर्मचारीका रुपमा समाचार निर्देशक राजु सिलवाललाई रु ५५ हजार राशिसहित पुरस्कृत गरियो । कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, सञ्चार मन्त्रालयका सचिव दीपक सुवेदी, संस्थाका पूर्वअध्यक्ष तथा महाप्रबन्धक र राष्ट्रिय सञ्चारमाध्यमका प्रमुखको उपस्थिति थियो । सो टेलिभिजनको स्थापना दिवसका दिन यही माघ १७ गते इटहरी प्रसारणको शुरुआत भएको थियो । विसं २०४१ माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको थियो । गोरखापत्र अनलाईनबाट

Facebook Comments