Mon. May 6th, 2024

अविरल वर्षाले देशका विभिन्न स्थानमा डुबान, बाढीपहिरोमा परि १० जनाको मृत्यु, ११ जना बेपत्ता, ६ सय घर परिवारका ३ हजार ५ सय जना विस्थापित

काठमाण्डौं, २०७९ असोज २४ गते सोमबार । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण देशका विभिन्न स्थान डुबान, बाढी र पहिरोले प्रभावित भएका छन् ।

प्राकृतिक विपद्का कारण आज देशभर १० जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । त्यसैगरी ६सय घर परिवारका ३ हजार ५ सय जना विस्थापीत भएका र ५ जना घाइते भएका छन् । दर्जनौ घर जोखिममा परेका छन् भने २०० घर भत्केका छन् । प्राकृतिक विपद्का कारण राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकासबैभन्दा बढी प्रभावित भएका छन् । यस क्षेत्रमा करिब ५ सय घरपरिवारका कम्तीमा ३ हजार ५०० जना विस्थापित भएका छन् ।

राप्ती नदीमा आएको बाढी राप्तीसोनारी गाउँपालिका-२ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा ३ सय घरधुरी विस्थापित भएको जिल्ला विपद् व्यवस्थापन समितीले जनाएको छ । विस्थापित भएकालाई विभिन्न आश्रयस्थल र स्कुलमा सुरक्षित स्थानमा राखिएको छ । त्यस्तै डुडुवा गाउँपालिकाको कृषि चौफेरी र नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ र २० का ३ सयभन्दा बढी बासिन्दा डुबानबाट विस्थापित भएका छन् । बाढीले नरैनापुरका २ सय घर भत्केका छन् । त्यहाँका ६ वटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् ।

उक्त क्षेत्रको नरैनापुरका बनियागाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर, पचपेडवा, घोडदौरिया, पण्डितपुरवा, जमुनाहालगायत धेरै बस्ती डुबानमा परेका छन् । ती क्षेत्रमा चार दिनदेखि विद्युत् सेवा पनि अवरुद्ध भएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा बसिरहेका करिब ४ सयलाई पुग्ने गरी तत्काल तयारी खाजा र खानाको व्यवस्था गरेको बताउनुभएको छ ।त्यस्तै डुडुवा-१ का छिटाइपुर्वास्थित दुईपाझा टोलका करिब १ सय २० र सोही वडाअन्तर्गत कृषि चौफेरी, बोर्डर चौफेरी र गजराजपुर्वा गाउँका करिब २ सय ५० जना अहिले बाढी र डुबानबाट विस्थापित भएर गाउँ नजिकै पालिकाले निर्माण गरेको आश्रयस्थलमा बसिरहेको अध्यक्ष चौधरीले जानकारी दिनुभएको छ ।

लगातारको वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले ८ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको-८ सय घर डुबानमा परेको र डुबानमा परेकालाई नजिकैका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश चौधरीले बताउनुभएको छ ।

त्यसैगरी हुम्लाको चङ्खेली गाउँपालिका-६ को मासीधारा गाउँमा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु हुनुका साथै ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस्मिता विक, ७ वर्षीया बसन्त विक छन् । त्यसैगरी मुगुको छायाँनाथ रारा नगरपालिका-११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । उद्धारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

Facebook Comments