Mon. May 6th, 2024

मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु, तीन जना बेपत्ता

मुगु, २०७९ असोज २४ गते सोमबार । मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका-११ सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

लगातार वर्षाका कारण पहिरोको डरले आठ जना एउटै घरमा बसेका थिए । मृत्यु हुनेमा चार महिला र चार पुरुष रहेका प्रनाउ हमालले बताउनुभयो । उनीहरूको सनाखत हुन सकेको छैन । पहिरोमा परी तीन जना अझै बेपत्ता छन् ।

बेपत्ताको खोजीका लागि सदरमुकाम गमगढीबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । वर्षा नरोकिएकाले खोजबिनमा समस्या भएको हमालले बताउनुभयो । घटनास्थल सदरमुकामबाट तीन घण्टाको पैदल दूरीमा छ ।

पहिरो गएको सालिम गाउँमा झण्डै ३५ परिवारको बसोबास रहेको थियो । पहिरो आएपछि उनीहरू सबै सुरक्षित स्थानतर्फ लागेको प्रनाउ हमालले जानकारी दिनुभयो ।

जिल्लाका धेरैजसो ठाउँमा अत्यधिक वर्षाले क्षति पुर्‍याएको छ । जताततै पहिरो गएको छ । बाटोघाटो अवरुद्ध तथा निरन्तर बाढी र पहिरो आएका कारण प्रहरी उद्धारमा खटिन नसकेको हमालको भनाइ छ ।

यसैबीच उद्धार तथा राहतका लागि सुर्खेतबाट आउने भनिएको हेलिकप्टर अबेर साँझसम्म गमगढी आउन नसकेको प्रहरीले जनाएको छ । छिमेकी जिल्ला कालिकोटमा समेत पहिरोमा परेकाहरूको उद्धार गर्न आएको हेलिकप्टर उतैबाट सुर्खेत फर्किएको बताइएको छ । मङ्गलबार बिहानै उद्धार र राहतका लागि हेलिकप्टर आउने प्रहरीले जनाएको छ ।

जिल्लामा विभिन्न खोलाबाट उत्पादित बिजुली बन्द छ । पहिरोले मुहानै बगाएपछि जिल्लावासी बिजुलीविहीन अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । जिल्लामा टेलिफोन सेवासमेत अवरुद्ध छ । रासस

Facebook Comments