Fri. May 17th, 2024

गाउँघरमा देखिन छाड्यो पिङ

दमौली, २०७९ असोज १७ गते सोमबार । पिङ हालेको देखेपछि दशैँ आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको बताइन्छ । गाउँघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेले वर्षमा एक पटक भए पनि दशैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन कायमै छ । विशेष गरी दशैँको बेलामा पिङको छुट्टै महत्व छ ।

विगत केही वर्ष पहिला दमौली सदरमुकाममा पनि पिङ हाल्ने प्रचलन थियो । दशैँ मनाउनका गाउँ गएकाले पनि गाउँमा पिङ हालेर रमाइलो गर्दथे तर विस्तारै पिङ हाल्ने प्रचलन लोप हुन थालेको छ । सहरमात्र नभई गाउँघरमा पनि आजभोलि कमै मात्र पिङ देख्न सकिन्छ ।

पहिला पहिला दशैँ आउनुअगावै पिङ हालेर रमाइलो हुने भए पनि आजभोलि त्यस्तो प्रचलन हराउँदै आएको म्याग्दे गाउँपालिका-७ का मोहन बरालीले बताउनुभयो । “दशैँमा पिङ खेल्ने, रमाउने परम्परा हराउँदै गयो, आधुनिकताका कारण यी सबै इतिहासमा सीमित हुने हो की भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो, “आजभोलि त सहर बजारका साथसाथै गाउँमा पनि पिङ देख्न छाडियो ।”

पहिला-पहिला दशैँ आएपछि गाउँघरमा पिङ खेलेर रमाइलो गर्ने प्रचलन भए पनि आजभोलि त्यस्तो क्रम घट्दै गएको भिमाद नगरपालिका–९ का शिवकुमार आलेले सुनाउनुभयो । विगतका वर्षहरुमा प्रत्येक गाउँमा पिङ देख्ने गरिए पनि आजभोलि निकै काम मात्रै पिङ देखिने आलेको भनाइ छ । “पहिला पहिला जताततै पिङ देखिन्थ्यो, पिङ खेल्न पालो कुर्नुपथ्र्यो, आजभोलि विस्तारै घट्दै छ”, उहाँले भन्नुभयो । उहाँले संस्कृति जोगाउनका लागि आफूहरु यो वर्ष पिङ हाल्ने तयारीमा रहेको बताउनुभयो ।

सहर बजार र जिल्ला बाहिर भएका व्यक्ति दशैँ मान्न घर फर्किदा गाउँघर भने रमाइलो हुने गरेको छ । व्यास नगरपालिकाले विगतका केही वर्ष व्यास-३ स्थित खुला मैदानमा रोटे पिङ हालेको थियो । विगत दुई वर्ष कोभिड-१९ को सङ्क्रमणका कारण दमौलीमा पनि पिङ हालिएन तर केही गाउँमा भने दशैँका बेला पिङ हाल्ने प्रचलन अझै पनि कायमै रहेको छ । भानु नगरपालिका-५ बारीफाँटस्थित जनसेवा युवा क्लबका सदस्यले पिङ हालेपछि गाउँमा दशैँ आएकोजस्तो अनुभूति स्थानीय युवा मनोज श्रेष्ठले जानकारीदिनुभयो ।

त्यस्तै केही ठाउँमा संस्कृति र परम्पराका लागि जनाउँदै स्थानीयवासीले पिङ हाल्ने तयारी गरेका छन् । बन्दीपुरस्थित टुँडिखेलमा स्थानीय व्यवसायीले पिङ हाल्ने तयारी गरेको किसान प्रधानले जानकारी दिनुभयो । “टुँडिखेल टोल विकास संस्थाले दशैँका लागि पिङ हाल्नका लागि बाबियो सङ्कलन गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “केही दिनभित्रै पिङ तयार हुन्छ ।” उक्त संस्थाले गत वर्ष पनि बन्दीपुरमा पिङ हालेको थियो ।

संस्कृति संरक्षणका लागि पहल

पिङ हाल्ने प्रचलन हराउँदै जान थालेपछि जिल्लाका स्थानीय तहले भने पिङ संरक्षणको अभियान सुरु गरेका छन् । व्यास नगरपालिका-५ ले पिङ संरक्षणका लागि वडाभित्रका प्रत्येक टोलमा दशैँमा पिङ हाल्न लठ्ठा वितरण गरेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

वडाभित्र रहेका १७ टोल विकास संस्थालाई लठ्ठा वितरण गरिएको छ । “गाउँघरमा पिङ नै हराउँदै जान थालेपछि वडा कार्यालयले लठ्ठा खरिद गरेर टोललाई निःशुल्क उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “यसले गर्दा कम्तीमा १७ वटै टोलमा पिङ देख्न पाइने भएको छ ।”

व्यास नगरपालिकाले केही ठाउँमा पिङ हाल्न बजेट सहयोग गरेको छ । व्यास नगरपालिका-३ स्थित खुला मैदानमा पिङ राखिएको वडाध्यक्ष अनुप रानाले जानकारी दिनुभयो । नेपाली सेनाको श्रमदानमा खुला मैदानमा दुई वटा पिङ बनाइएको छ ।

“बजारमा पिङ नदेख्दा दशैँ आएको जस्तो अनुभूति पनि भएन, वडावासीले पनि पिङ हाल्न आग्रह गर्नुभयो”, उहाँले भन्नुभयो, “दुईवटामध्ये एउटा पिङ बालबालिकाका लागि खेल्न बनाएका छौँ ।” व्यास-११ मा नगरपालिकाको रु ५० हजार सहयोगमा पिङ हालिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । “विगतमा नगरपालिकाको लगानीमा रोटेपिङ हालिए पनि यस वर्ष भने लिङ्गे पुल बनाउन लागेका छौँ”, उहाँले भन्नुभयो । रासस

Facebook Comments