Fri. Apr 26th, 2024

चुनावपछि राष्ट्रिय प्रजातन्त्र पार्टी पहिलो बन्ने लिङ्देनको दाबी

फाईल फोटो

काठमाण्डौं, २०७९ असोज १२ गते बुधबार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावबाट आफ्नो पार्टी पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । बुधबार भएको रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधरसँगको एकता घोषणा कार्यक्रममा उहाँले नागरिकले विश्वासिलो विकल्प खोजिरहेको र राप्रपा विकल्प रहेको बताउनु भएको छ । उहाँले राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो सिट ल्याउँछ भन्नु भएको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह निर्वाचित हुनुहुन्छ भन्ने कसैले नसोचेको भन्दै लिङ्देनले राप्रपाको पनि त्यस्तै अवस्था हुने दाबी गर्नुभएको छ ।

राप्रपाले विगतमा गलत व्यवस्थापनका कारण पटक पटक हारेकाले नेता कार्यकर्तामा हीन मानसिकता देखिएको पनि उल्लेख गर्नुभएको छ । लिङ्देनले पार्टीका नेता कार्यकर्तालाई चुनाव क्षेत्रमा जान र उम्मेदवारी घोषणा गर्न पनि आग्रह गर्नुभएको छ । उहाँले देशका १६५ वटै प्रतिनिधिसभा र ३३० प्रदेशसशभमा उम्मेदवारी दिने बताउनु भएको छ । मुलुकले विकल्प खोजिरहेको हुनाले विजय सम्भव भएको उहाँले बताउनु भएको छ ।

मंसिर ४ को चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुले नै राप्रपालाई मत दिने लिङ्देनले दाबी छ ।

Facebook Comments