Sat. May 18th, 2024

टिकट बाँडफाँटमा अन्यायमा परेको भन्दै कांग्रेस कोइराला पक्षद्वारा केन्द्रीय कार्यालयमा धर्ना

काठमाण्डौं, २०७९ असोज १२ गते बुधबार । चुनावको टिकट वितरण गर्दा चरम गुटबन्दी भएको भन्दै नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले पार्टी कार्यालयमा नै धर्ना दिएको छ ।

बुधवार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शेखर कोइराला पक्षका नेता तथा कार्यकर्ताहरूले धर्ना बस्न सुरु गरेका हुन् । उनीहरूले ‘समान अवसर र न्यायको निम्ति धर्ना कार्यक्रम’ लेखिएको ब्यानर टाँगेर  धर्ना बसेका छन् । आउँदो मङ्सिर ४ गते हुने चुनावमा समानुपातिक तर्फको बन्दसूचीमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गुट र आफन्तको मात्रै नाम समावेश गरेको तथा प्रत्यक्षतर्फको टिकटमा पनि भेदभाव गरिरहेको भन्दै कोइराला पक्षले धर्ना दिएका छन् ।

उक्त धर्नामा शेखर कोइराला, गगन थापा, धनराज गुरुङलगायतका शीर्ष नेताहरू भने उपस्थित छैनन् । शीर्ष नेता नआए पनि उहाँहरूको समर्थन रहेको नेता गुरुराज घिमिरेले बताउनुभएको छ । आफूहरूको आन्दोलन पार्टी  र कुनै नेताको विरुद्धमा नभई पार्टीभित्रको अन्यायविरुद्ध भएको घिमिरेको भनाइ छ ।

Facebook Comments