Tue. Dec 24th, 2024

भिमफेदी बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ६ जनाको पहिचान खुल्यो

- दुर्घटनामा नेपाली सेनाका पूजारी जमदार रघुराज न्यौपानेको ज्यान गयो

काठमाण्डौं, २०७९ असोज ७ गते शुक्रबार । मकवानपुर जिल्लाको भिमफेदीमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ६ जनाको पहिचान खुलेको छ । दुर्घटनामा ७ जनाले ज्यान गुमाएका थिए ।

मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरुमा नुवाकोट घर भएका रघुराज न्यौपाने, बाराका अन्दुल्लाहा मियाँ ठकुराई र सेख अरमान, वीरगञ्जका हृदयनाराण पञ्जियार, मकवानपुरका मदन विक र भारत मोतिहारी घर भएका सरदनारायण शर्मा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका एक जनाको अहिलेसम्म परिचय खुलेको छैन ।

दुर्घटनामा पर्नुभएका रघुराज न्यौपाने

दुर्घटनामा ज्यान गुमाउने रघुराज न्यौपाने नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । ३५ वर्षीय न्यौपाने नेपाली सेनाको शान्ति मिसनमा सहभागी भएर गत भदौ ७ गते अफ्रिकी देश मालीबाट नेपाल फर्कनु भएको थियो । एकमहिने घरवीदा सकेर काठमाण्डौंबाट हाल दरबन्दी रहेको रौतहटको गौरस्थित वीरदल गणमा जाँदा सेनाका पूजारी जमदार न्यौपाने दुर्घटनामा पर्नुभएको हो ।

दुर्घटनामा घाइते भएका २६ जनामध्ये ४ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र सामान्य घाइते ६ जना उपचारपछि घर फर्किएका मकवानपुर प्रहरीले जनाएको छ ।

बा ३ ख ७८५८ नम्बरको बस हिजो दिउँसो भीमफेदीको जुरिखेत नजिकै दुर्घटना भएको थियो । ओरालो बाटोमा ब्रेक फेल भएर बस दुर्घटना भएको अनुमान छ।

Facebook Comments