Tue. May 7th, 2024

गठबन्धनले अहंकारी शैली देखाउँदै राष्ट्रपतिको अपमान गरिरहेको छ : एमाले अध्यक्ष ओली

फाईल फोटो

काठमाण्डौं,  २०७९ असोज ६ गते बिहीबार । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि सत्तरूढ दलहरू विरोधमा उत्रिएका बेला प्रमुख प्रतिपक्षी नेकपा एमाले राष्ट्रपतिको कदमको प्रतिरक्षामा उत्रिएको छ ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले राष्ट्रपतिलाई बदनाम गराउन क्रियाशील रहेको दाबी गर्नु भएको छ ।

नागरिकताको विषयलाई सत्ता गठबन्धनले चुनावी एजेण्डा बनाउँदै एमालेविरुद्ध प्रयोग गर्न खोजेको पूर्व प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष ओलीले बताउनु भएको छ । गठबन्धनले अहंकारी शैली देखाउँदै राष्ट्रपतिको अपमान गरिरहेको अध्यक्ष ओलीको भनाइ छ । त्यस्तै,  संविधानको धारा ८१ ले प्रधानमन्त्रीले राष्ट्रपतिलाई सरकारका कामबारे जानकारी गराउनुपर्ने उल्लेख भए पनि सत्ता गठबन्धनले त्यस धाराको उल्लंघन गरेको ओलीले दाबी गर्नु भएको छ । सत्ता गठबन्धनले गरेको गलत कामको साक्षी राष्ट्रपति हुन नमिल्ने तर्क ओलीले गर्नु भएको छ ।

संसदले पहिलो पटक पठाएको नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीले अंगीकृत नागरिकता, आमाको नामबाट नागरिकता दिँदा गर्नुपर्ने स्वघोषणा र प्रादेशिक नागरिकता सम्बन्धी व्यवस्थामा पुनर्विचार गर्नुपर्ने सुझावसहित परिमार्जनका लागि फिर्ता पठाउनु भएको थियो ।

राष्ट्रपतिले विधेयक फिर्ता पठाएपछि सत्ता गठबन्धनले बालुवाटारमा बैठक राखेर नागरिकता विधेयकमा कुनै परिवर्तन नगरी जस्ताको त्यस्तै राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो । गठबन्धनको यही निर्णयका कारण अहिलेको समस्या आएको महासचिव पोखरेलले तर्क गर्नु भएको छ । गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई संसद बाहिरबाट सत्ता गठबन्धनले चुनौती दिएको उहाँको भनाइ छ । एमाले नागरिकताविहीनहरुलाई नागरिकता दिने पक्षमै रहेकाले आफू नेतृत्वको सरकारको पालामा अध्यादेश ल्याएको पोखरेलको भनाइ छ ।

‘जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने पक्षमा एमाले सधैं छ । हाम्रो सरोकार वैवाहिक अंगीकृतको समयसीमामा हो । अनधिकृत ठाउँमा बसेर राष्ट्रपतिको मजाक उडाउने गठबन्धनले एमालेविरुद्ध प्रहार गर्न खोज्दै छ, गठबन्धनको भ्रम हामीले चिर्नु परेको’, पोखरेलले भन्नुभयो ।

Facebook Comments