Sat. May 18th, 2024

म्यान्माको विद्यालयमा हवाई आक्रमण, तेह्र जना मारिए

थाईल्याण्ड, ब्याङकक, २०७९ असोज ४ गते मंगलबार । उत्तर-मध्य म्यान्मास्थित एक विद्यालय र गाउँमा सेनाले हेलिकप्टरबाट आक्रमण गर्दा सात जना बालबालिकासहित १३ जनाको मृत्यु भएको एक जना विद्यालय प्रशासक र अर्का एक जना सहायताकर्मीले बताएका छन् ।

म्यान्मामा प्रजातन्त्र समर्थक विद्रोही र उनीहरूलाई सहयोग गर्नेहरूमाथि सैनिक सरकारले आक्रमण गर्दा निर्दोष सर्वसाधारण मारिने गरेका छन् । गत शुक्रबार सागिङ क्षेत्रको ताबायिनमा ती बालबालिका मारिएका हुन् । प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई अपदस्थ गरेर सेनाले सत्ता कब्जा गरेपछि भएको बालबालिकाको यो हताहती सबैभन्दा ठूलो हो ।

सेनाले शासन कब्जा गरेपछि जनस्तरमा देशव्यापीरूपमा अहिंसात्मक विरोध प्रारम्भ भएपछि सैनिक र प्रहरीले घातक कारबाही थाल्दा शहर र गाउँमा सशस्त्र प्रतिरोध जारी छ । राष्ट्रसङ्घीय बालकोषको पछिल्लो प्रतिवेदनअनुसार सागिङमा सेनाले भीषण कारबाही गरेको छ जहाँ केयौँ गाउँ जलाइएका थिए । सैनिक कारबाहीका कारण त्यहाँबाट झण्डै पाँच लाख सर्वसाधारण विस्थापित भएका छन् । एजेन्सी

Facebook Comments