Mon. Dec 23rd, 2024

अलौकिक दृश्यसँग लुकामारी गर्ने कास्कीको घाचोक

-नारायण ढुङ्गाना /पोखरा, २०७९ असोज ३ गते सोमबार । एउटा सानो उपत्यका झै लाग्ने कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ ‘घाचोक’ प्राकृति सुन्दरताले भरिएको ठाउँ हो । यहाँको दृश्य मन लोभ्याउँदो छ । पहाडी दृश्य, त्यसमाथि गुरुङ-मगर बस्ती, त्यहाँ बनेका परम्परागतशैलीका घर, नजिकै ठूला ठूला पहाड भएपछि कलाकारलाई अरु केही चाहिएन । सेतो पर्दाझैँ लाग्ने हिमशृङ्खला थपिँदाको दृश्यपान घाचोक पुग्नेका लागि ठूलो सपना भइदिन्छ ।

शनिबार भने त्यो अवसर राम्ररी जुरेन । मौसम परिवर्तनले नजिकबाट नियाल्न पाउने हिमशृङ्खलालाई क्यान्भासमा उतार्न नपाइए पनि बेलाबेलामा बादल छिचोल्दै टुप्लुक्क निस्कने हिम चुचुराले चार देशबाट जम्मा भएका १ सय १८ चित्रकारलाई एकीकृत गराउँदथ्यो अनि दृश्य समेट्न मोबाइल ठड्याउँथे तर एकै छिनमा बालदभित्रै हराइदिन्थ्यो ती चुचुरा ।

यस्तैयस्तै लुकामारी चल्दै रह्यो दिनभर । “बादलको पर्दा उघ्रिदिए कलाकार कति खुसी हुन्थ्ये होला”, स्थानीयवासीले दिनभर त्यो प्रार्थना गरिरहे पनि कला सिर्जनाका विषय यत्रतत्र थिए घाचोकमा । पाइलैपिच्छेका दृश्यले कलाकारका मन लोभ्याउँथ्यो । अग्रज कलाकार बुद्धि गुरुङ र चितवनका कलाकार डि बरालले त्यही दृश्य हेरेर क्यान्भासमा कुची चलाएको वर्षौ भइसक्यो । विदेशीले यस्ता दृश्य औधी मन पराउने हुँदा कास्कीका मात्रै होइन अन्य जिल्लाका कलाकारसमेत पोखरा र आसपासका दृश्य लिन आइरहन्छन् ।

विदेशीले यस्ता दृश्य औधी मन पराउने हुँदा कास्कीका मात्रै होइन अन्य जिल्लाका कलाकारसमेत पोखरा र आसपासका दृश्य लिन आइरहन्छन् ।

कलाकार प्रकाश थापा (प्रथा) आइतबारको कला सिर्जना प्रतियोगिताको निर्णायक हुनुहुन्थ्यो तर त्यहाँको दृश्य देख्दा उहाँ पनि क्यान्भास नकोरी बस्न सक्नुभएन । कालाकार थापाले अन्य कलाकार सरह स्थानीय रहनसहन र बस्तीलाई पानीरङले सजाउनुभयो । भक्तपुरका अर्का कलाकार अञ्जन अधिकारीले पहिलो पटक यहाँ जलरङ खेलाउनुभयो । एक्रेलिक र तेल रङले चित्र सिर्जना गर्नुहुने अधिकारीले घाचोकलाई भने जलरङले आकार दिनुभयो । पोखराबाट केही घण्टाको सवारी यात्रामै पुगिने ठाउँ हो घाचोक । स्थानीय संस्कृति र मौलिक परम्परालाई जोगाउँदै अहिले त्यहाँ होमस्टेसमेत सञ्चालन गरिएको छ ।

आगन्तुकलाई घाटुलगायत नाच देखाएर मनोरञ्जन प्रदान गर्न स्थानीयवासी हौसिहाल्छन् । आइतबार स्थानीय परिकारसहित मौलिक संस्कृति र परम्पराका स्वाद पस्किएर गाउँलेले कलाकारलाई भरपुर मनोरञ्जन दिए । आइतबार साँझसम्मै हिमशृङ्खलालाई क्यान्भासमा उतार्ने स्वदेशी तथा विदेशी कलाकारको चाह भने पूरा हुनै पाएन । त्यसैले कलाकारले अलि खल्लो महसुस गरिरहेका देखिए ।

कलाकार सुरेश स्याङतानलाई स्थानीय परम्परागत घरले लोभ्यायो । उहाँले त्यसैलाई आर्ट पेपरमा समेट्नु भयो । अधिकांश कलाकारले स्थानीय रहनसहन र संस्कृति तथा प्राकृतिक दृश्य र बस्तीको चित्र सिर्जना गर्न भ्याएका थिए । चर्चितदेखि नवकलाकारसमेतको सहभागितामा भएको ‘पोखरा आर्ट क्याम्प’को दोस्रो महत्वपूर्ण कार्यक्रम घाचोकमा भएको हो । उनीहरुले बनाएका चित्र प्रदर्शन गरे । यहाँका परम्परागत घर भने हराउँदै गएको पाइएको छ । भएका घर पनि कमेरो र रातोमाटाकोे नभई आयातित रङले सजिएका पाइए भने सिमेन्टेड घरको वर्चस्व हुन थालिसकेको देखिन्छ । त्यसअघि आइतबार बिहान कलाकारको समूहले पोखराको कुमुदिनी होम्सस्थित जेके आर्ट ग्यालरीको भ्रमण गरे।

त्यहाँ पुराना कलाकारका सिर्जनादेखि नव कलाकारका सिर्जनासमेत देख्न पाइन्छ । यो एटा आर्ट सङ्ग्रहालयका रुपमा विकास गरिएको छ । शनिवार पहिलो कार्यक्रम पोखराको बगरमा स्वदेश र विदेशका १२ मास्टर आर्टिष्टबाट चित्र सिर्जनाको प्रत्यक्ष अवलोकन गराइएको थियो । आज यहाँको शान्ति स्तुपा फेवाताललगायत आसपासका सुन्दर दृष्यलाई जलरङले क्यान्भासमा सजाउने योजना कलाकारको छ ।

यही असोज १ गते चित्रकारको ठूलो जमात पोखरा प्रवेश गरेकामा भारत, बङ्गलादेश र इरानका २८ कलाकार सहभागी छन् । उनीहरुलाई ९० नेपाली कलाकारले साथ दिइरहेका छन् । अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजना तथा गण्डकी प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा भएको ‘पोखरा आर्ट क्याम्प’का स्थानीय संयोजक मनोज तामाङ यति धेरै सङ्ख्याका कलाकार सहभागी भएर पोखराका दृष्य चित्रमा समेट्दा यसले यहाँको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउनुहुन्छ । हुन त कला भनेको त्यस देशको पहिचान हो । कलाले आपसी सम्बन्ध विस्तारमा टेवा पुर्‍याउँछ । कलाको भाषा सजिलोसँग बुझ्ने भएकाले पनि यसलाई दूतका रुपमा लिने गरिन्छ ।

कलाकारले तत्कालै मात्र चित्र सिर्जना गर्दैनन् । उनीहरुले क्यामेरामा समेटेका तस्वीर घरमै पुगेर पछिसम्म पनि सिर्जना गरिरहेका हुन्छन् । त्यसले कयौँ वर्ष पर्यटक प्रवर्ध्दनमा सघाउ पुर्‍याइरहने आइडब्लुएस नेपालका अध्यक्ष तथा कार्यक्रम मूल आयोजक समितिका संयोजक एनवी गुरुङ बताउनुहुन्छ । उहाँका अनुसार दश वर्षअघि नेपाल आएका कलाकारले अहिले पनि नेपाली दृष्य सिर्जना गरिरहेका छन् । रासस

Facebook Comments