Sat. May 4th, 2024

अनसनरत डा. केसीको स्वास्थ्यस्थिति नाजुक, सुविधासम्पन्न अस्पताल लैजान सुझाव

भिओके समाचार/धनगढी, २०७९ असोज ३ गते सोमबार । स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीलाई विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न आग्रह गरिएको छ । धनगढी पुगेर २७ भदाैदेखि अनशन सुरु गर्नुभएका डा. केसीको स्वास्थ्यस्थिति खराब हुँदै गएपछि  सेती प्रादेशिक अस्पताल सारिएको थियो । सो अस्पतालमा उहाँको हेरचाह हुन नसक्ने देखिएकोले सुविधासम्पन्न अस्पतालमा सार्न अनुरोध गरिएको हो ।

केसीको पेटमा अल्सर भई आन्तरिक रक्तश्राव भएको आशंका गर्दै अस्पतालले थप जटिलता बढ्न सक्ने भएकाले विशिष्टिकृत अस्पताल लैजान सेती प्रादेशिक अस्पतालले आग्रह गरेको  हो।

उहाँको शरीरमा मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तस्राबको शंका भएकाले ज्यानमा थप जटिलता आउनसक्ने र जोखिम हुनसक्ने भएकाले विशिष्टिकृत अस्पतालमा लैजान सल्लाह दिइएको उहाँको उपचारमा संलग्न डा. शेरबहादुर कमरले जानकारी दिनुभयो ।

डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र थप जटिलता आउनसक्ने भएकाले उपचारका लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पताल लैजान मानव अधिकार आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय, प्रदेशको सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र संघीय स्वास्थ्य मन्त्रालयमा जानकारी पठाएको अस्पतालले जनाएको छ।

डा. कमरका अनुसार डा. केसीमा पेट दुख्ने, दिसा कालो भएको, कमजोरी, टाउको दुख्ने, रिंगटा लाग्ने, थकान लाग्ने, सास फेर्न गाह्राे हुने, छाती दुख्ने, मांशपेशी बाउडिनेजस्ता समस्या देखिएका छन् । अनसनको आठौँ दिन सोमबारसम्म उहाँको तौल २.७ किलो घटेको अस्पतालले जनाएको छ।

Facebook Comments