Sun. May 19th, 2024

शेयर बजारमा भारी गिरावट

काठमाण्डौं, २०७९ भदौं ३० गते बिहीबार । बैंकर्स संघले विगत ६ महिनादेखि निक्षेपमा ब्याजदर नबढाउने गरी गर्दै आएको भद्र सहमति खारेज गरेसँगै आज बजार ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक ५७ अङ्कले घटेर १९२४.४८ को विन्दुमा पुगेको छ । त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ११.२३, फ्लोट इण्डेक्स ३.९३ र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१२ अंकले घटेको छ । आज कूल २२७ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता शेयर २ अर्व  १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँमा खरिदबिक्री भएको छ ।

आज १३ वटै सूचकहरु घटेका छन् । आज कारोबार भएका सूचकहरुमा जलविद्युत् ४.४६,  लघुवित्त समूहमा ३.१२, बैंकिङ १.८२,  होटल तथा पर्यटन ३.४२, विकास बैंक ४.६५, फाइनान्स ५.२४,  निर्माण तथा उत्पादन क्षेत्र ३.१६ , जीवन बीमा १.९ , म्युच्युअल फण्ड १.९५ र अन्य ३.९४ प्रतिशतले घटेका छन् । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई मूल्य आज सर्वाधिक ८ प्रतिशतले घटेको छ। कारोबारमा आएको समृद्धि फाइनान्स र श्वेत गंगा हाइड्रोपावरको शेयरमूल्य आज ७ प्रतिशतभन्दा बढीले घटेको छ।

आज सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य सर्वाधिक ४.१२ प्रतिशतले बढेको छ । त्यसैगरी, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ४ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज लक्ष्मी बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । आज उक्त बैंकको २१ करोड ५० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, आज रिडी पावरको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

Facebook Comments