Wed. May 15th, 2024

राष्ट्रपति भण्डारीसँग चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लीको भेटवार्ता, द्विपक्षीय हितका विविध विषयमा छलफल

- अध्यक्ष लि चान्सुको नेपाल भ्रमण

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार राष्ट्रपति भवन शितल निवासमा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुलाई स्वागत गर्नुहुँदै ।

काठमाण्डौं, २०७९ भदौं २९ गते बुधबार । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आज अपराह्न भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार राष्ट्रपति भवन शितल निवासमा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु शिष्टाचार भेटवार्ता गर्नुहुँदै ।

भेटमा राष्ट्रपति भण्डारीले दुई देशबीचको परम्परागत मित्रवत् सम्बन्धका बारेमा चर्चा गर्दै यस्ता उच्चस्तरीय भेटवार्ताले सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष लीले यस अघि सन् २०१९ अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएका सहमति र सम्झौता कार्यान्वयन गर्ने आफ्नो लक्ष्य भएको बताउनुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार राष्ट्रपति भवन शितल निवासमा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुलाई स्वागत गर्नुहुँदै ।

भेटवार्तामा अध्यक्ष लीले राजनीतिक तथा पारस्परिक विश्वास अझ सुदृढ गर्नु र विविध क्षेत्रका सहाकर्यलाई गहन बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले नेपालको संविधान दिवसका अवसरमा शुभकामना पनि दिनुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार राष्ट्रपति भवन शितल निवासमा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु शिष्टाचार भेटवार्ता गर्नुहुँदै ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष लि सोमबार विशेष विमानबाट काठमाण्डौं आइपुग्नुभएको हो ।

भ्रमणको पहिलो दिन सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । अध्यक्ष लि भ्रमणको दोस्रो दिन मङ्गलबार विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहनुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले मङ्गलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभयो । प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सञ्चालन गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल-चीन सम्बन्धका विभिन्न विषयमा अन्तरसंसदीय आदान–प्रदान र सहकार्यका विषयमा छलफल भएको थियो । सोही दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लिले संसद् भवन नयाँ बानेश्वरमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ ।

मङ्गलबार दिउँसो परराष्ट्रमन्त्री डा. नारायण खड्काले अध्यक्ष लिसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा दुई पक्षबीच नेपाल-चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदान-प्रदान भएको थियो । अध्यक्ष ली नेतृत्वमा छ चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, अन्यसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ ।

अध्यक्ष ली भ्रमण सम्पन्न गरी भोली बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ । रासस

फोटो : रासस

Facebook Comments