Fri. May 17th, 2024

उखु उत्पादक किसानको ३४ करोड रुपियाँ भुक्तानी गर्न बाँकी

नवलपरासी, २०७६ माघ १५ गते बुधबार

नवलपरासीका चिनी उद्योगले उखु उत्पादक किसानको ३४ करोड रुपियाँ भुक्तानी गर्न बाँकी छ ।
चिनी उद्योगहरूले उखुको रकम भुक्तानी गर्ने भन्दै बारम्बार सम्झौता गर्ने तर त्यसको पालना नगर्ने गरेका कारण अहिले नवलपरासीको कुडियास्थित इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्रिज प्रालिले १४ करोड, सुनवलस्थित लुम्बिनी चिनी उद्योगले नौ करोड एवं सुस्तास्थित बाग्मती खाडसारी तथा चिनी उद्योगले ११ करोड गरी तीन चिनी उद्योगहरूले किसानको जम्मा ३४ करोड रुपियाँ रकम तिर्न बाँकी रहेको नवलपरासी उखु उत्पादक किसान सङ्घका अध्यक्ष उमेश यादवले बताउनुभयो ।

गत दुई वर्षदेखि यी उद्योगले ठूलो रकम तिर्न बाँकी राखेपछि प्रतापपुर गाउँपालिकाको कुडियास्थित इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्रिज प्रालिको गेटमा किसानले तीन हप्तादेखि अनशन बसेका तर सम्बन्धित निकायले सुनुवाइ नगरेपछि अनशनरत किसानले अहिले चिनी उद्योगबाट निस्कने गेटबाहिरको सडक नै भत्काइदिएका छन् । आक्रोशित किसानले उद्योगको गेटबाहिर कुनै पनि सावारी साधन निस्कन नमिल्ने गरी ठूलो खाल्डो खनेर छाडेका स्थानीय लख्खु यादवले बताउनुभयो ।

प्रतापपुर गाउँपालिकास्थित इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्रिज प्रालिले करिब सात हजारभन्दा बढी किसानको पाँच हजारदेखि १५ लाख रुपियाँसम्म गरी जम्मा १४ करोड रुपियाँ तिर्न बाँकी रहेको उखु उत्पादक किसान सङ्घ नवलपरासीका अध्यक्ष उमेश यादवले बताउनुभयो । यसैगरी जिल्लाका सुनवलस्थित लुम्बिनी चिनी उद्योग एवं इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्रीका सञ्चालक अहिले सम्पर्कविहीन रहेको उखु उत्पादक किसान सङ्घ नवलपरासीका अध्यक्ष यादवले बताउनुभयो । ठूला र प्रभावशाली केही किसानले उद्योगीलाई दबाब सिर्जना गरी वा तालाबन्दी गरी केही रकम पाएको भए पनि सामान्य र गरिब किसानले ऋण लिएर गरेको उत्पादन गरेको उखुको रकमसमेत नपाएको पीडित किसान धर्मेन्द्र कुशवाहले बताउनुभयो ।

सुनवलस्थित लुम्बिनी चिनी मिल यो वर्षको सिजनमा पनि सञ्चालन नभएपछि किसान झन् मर्कामा परेका छन् भने सञ्चालनमा आएका अन्य दुई उद्योगले रकम भुक्तानी गर्न आलटाल गर्दै आएका छन् । अहिले किसान आफ्नो उखु अत्यन्तै कम मूल्यमा स्थानीय भेली उद्योगलाई बेच्न बाध्य भएको किसान लख्खु यादव बताउनुहुन्छ । पश्चिम नवलपरासीमा सानाठूला दुई सयभन्दा बढी खाडसारी छन् ।

किसान सडकमा
दुई वर्षदेखि उखुको भुक्तानी नपाएका नवलपरासीका उखु किसान आन्दोलनमा उत्रिएका छन् । चिनी उद्योगहरूले सरकारसंँग भएको सहमति कार्यान्वयन नगरेपछि उखु किसानहरू मङ्गलबारदेखि आन्दोलनमा उत्रिएका हुन् । नवलपरासी उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि चरणबद्ध रूपमा आन्दोलनमा उत्रिएको जानकारी गराउनुभयो ।

आन्दोलनका कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक पार्टीका प्रमुखहरूसँंग छलफल, किसान जागरण अभियान, बृहत् किसान भेला, पत्रकार भेटघाट कार्यक्रमदेखि पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गर्नेलगायतका छन् । गोरखापत्र अनलाईनबाट

Facebook Comments