Sat. May 18th, 2024

मोरङ क्षेत्र नम्बर-४ बाट एकल रूपमा सर्वसम्मत अमनलाल मोदीको नाम सिफारिस

महेश भट्टराई/विराटनगर, २०७९ भदौं २० गते सोमबार । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदी मोरङ क्षेत्र नम्बर-४ बाट सर्वसम्मत प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस हुनुभएको छ ।

विराटनगरमा आइतबार बसेको प्रदेश समितिको विस्तारित बैठकले प्रतिनिधि सभाका वर्तमान सांसद मोदीको नाम एकल रूपमा सर्वसम्मत सिफारिस गरिएको माओवादी मोरङ-४ का क्षेत्रीय संयोजक ताजिम अन्सारीले जानकारी दिनुभयो ।

मोदीले यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्नुभएको थियो । सो निर्वाचनमा मोदीले ३३ हजार ५ सय २९ र आचार्यले २६ हजार ८ सय मत प्राप्त गर्नुभएको थियो । मोदी २०७० सालको संविधानसभामा समानुपातिक तर्फबाट सदस्य हुनुहुन्थ्यो ।

यस्तै मोरङ-४ को प्रदेशसभा (क)बाट प्रत्यक्षमा विजय विश्वास, पक्खुलाल चौधरी र मनोज राई तथा प्रदेश (ख) बाट हरिप्रसाद घिमिरे, ताजिम अन्सारी, दिनेशकुमार राजवंशी र किशोरकुमार पाण्डेको नाम सिफारिस भएको छ ।

Facebook Comments