Sat. May 18th, 2024

प्रचण्ड सडक संघर्षमा जाने

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं १९ गते आईतबार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सडक संघर्षमा जानुहुने भएको छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका प्रचण्डले मुलुकको शासन प्रणाली र चुनाव प्रणाली बदल्न आन्दोलनमा जाने बताउनु भएको हो ।

आइतवार काठमाण्डौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रुपान्तरण गर्न आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लगत्तै  आफू  सडक संघर्षमा जाने बताउनु भएको हो । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढी छटपटीमा परेको र त्यसको निकासका लागि निर्वाचन लगत्तै आफू र आफ्नो नेतृत्वमा सडक आन्दोलनमा जाने योजना आफूले पार्टीभित्र तय गरिसकेको पनि उहाँले बताउनु भयो ।

अध्यक्ष प्रचण्डले समाजवादको यात्रालाई सुनिश्चित गर्नका लागि आफूले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गरेको तर त्यो टिक्न नसकेको पनि स्मरण गराउनु भयो । उहाँले एक वर्षभित्र मुलुकमा आफू नेतृत्वको सडक संघर्ष हुने र त्यसले मुलुकमा विद्यमान शासन प्रणाली र निर्वाचन प्रणालीमा सुधार ल्याई राजनीतिक क्षेत्रमा देखिएका सबै विकृति र विसंगतिको अन्त्य हुने दाब समेत गर्नु भयो । त्यसका लागि कम्युनिष्ट पार्टीहरुबीच एकता गरेर अघि बढ्ने अध्यक्ष प्रचण्डको भनाइ थियो ।

प्रचण्डले भन्नु भयो, ‘कम्युनिष्टहरूलाई एक ठाउँमा राख्ने, बलियो शक्ति निर्माण गर्ने । संविधानले समाजवादको यात्रातर्फ जाने परिकल्पना मात्रै गरेको छ । साँच्चै समाजवादको ठोस भिजन र कार्ययोजनासहित उत्पादन वृद्धि, श्रम र सांस्कृतिक रुपान्तरण स्थानीय तहैदेखि एउटा नयाँ आन्दोलन सृष्टि गर्ने उद्देश्य मेरो दिमागमा थियो । मैले जतिखेर माओवादी केन्द्रको अध्यक्षको हैसियतले एमालेका अध्यक्ष केपी ओलीजीसँग बाम गठबन्धन गरौं, कम्युनिष्ट एकता गरौं भनेर एकता गरिएको थियो ।’

अहिलेको निर्वाचन प्रणालीलाई कायमै राख्ने, अनि बडो भ्रष्टाचारमुक्त विकृति मुक्त समाज निर्माण गर्ने कुरा गर्नु भयो भने त्यो सम्भव नहुने प्रचण्डको दाबी थियो । उहाँले भन्न्भयो, ‘तपाईले निर्वाचन प्रणाली बदल्नै पर्छ । यो मेसिनरीले पार्टी नेताहरुलाई पनि भ्रष्टिकरणको बाटोमा पुर्‍याउँछ । चुनाव जित्न पैसा चाहिन्छ । पैसा दलाल पुँजीपतिसँग हुन्छ । मुलुकलाई अघि बढाउन कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित शासन प्रणाली हुुनुपर्दछ । अहिले त चुनाव आई नै सक्यो । प्रदेश र संघको निर्वाचनको संघारमा छौं हामी । अहिले सबैभन्दा बढी छटपटी र चिन्तित पनि म छु । संघीयता र गणतन्त्रमाथि जसरी प्रहार भइराखेको छ । विभिन्न नाम र कोणबाट यो परिवर्तनलाई निस्तेज पार्ने र यो परिवर्तनको नेतृत्व गर्ने आफ्नो पार्टी र नेतृत्वलाई निस्तेज गर्ने जो चलिराखेको छ ।’

अध्यक्ष प्रचण्डले संसद विघटन हुँदा भएको सडक आन्दोलनकै कारण त्यसको पुन:स्थापना गर्न आफूहरु बाध्य भएको भनेर निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले स्विकार गरेको स्मरण गराउँदै आफूहरु सोही आन्दोलनकै बाटोबाट अघि बढ्ने पटकपटक दोहोर्‍याउनु भयो ।

Facebook Comments