Sun. May 19th, 2024

सामसङका एलईडी टेलिभिजन अब नेपालमै बन्ने

काठमाण्डौं, २०७९ भदौं ९ गते बिहीबार । विश्व प्रशिद्ध ब्रान्ड सामसङका एलईडी टेलिभिजन अब नेपालमै बन्ने भएका छन् । गोल्छा अर्गनाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्स र सामसङको सहकार्यमा दक्षिण कोरियाली बहुराष्ट्रिय कप्पनीका एलईडी टेलिभिजन नेपालमै एसेम्बल हुने भएका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीएफओ एचके पार्क बुधबार टेलिभिजन एसेम्बल गर्न पश्चिम नवलपरासीको भूमहीमा स्थापना हुन लागेको उद्योगको शिलान्यास गर्नु भयो ।

कार्यक्रममा मन्त्री बडूले नेपाल सामसङका उत्पादनको ठूलो आयातकर्ता भएको बताउँदै नेपालमा थप लगानी गर्न आग्रह समेत गर्नु भयो । सामसङका लागि दक्षिण पश्चिम एसिया हेर्ने क्षेत्रीय अध्यक्ष एवं सीईओ केन काङले टीभी एसेम्बलिङले नेपालमा रोजगारीसँगै लगानीको पनि अवसर खुला हुने बताउनु भयो ।

गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले एसेम्बल उद्योगको स्थापनाले नेपालमा उद्योगधन्दाको विकाससँगै दक्षता र उत्पादकत्वमा वृद्धि हुने आशा व्यक्त गर्दै करिब तीन दशकको बिक्रीवितरणको अनुभवलाई भरपूर सदुपयोग गर्ने बताउनु भयो ।

हिम इलेक्ट्रोनिक्स नेपालका लागि सामसङको आधिकारिक डिलरका रूपमा रहँदै आएको छ । गोल्छाका अनुसार टीभी एसेम्बलमा लगानी हिम इलेक्ट्रोनिक्सको हुनेछ । सामसङले प्राविधिक साझेदारी मात्रै गर्नेछ । प्रतिदिन १ हजार टीभी उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

Facebook Comments