Tue. Dec 24th, 2024

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भिर

प्रदीप गिरी

काठमाण्डौं, २०७९ भदौं ४ गते शनिबार । नेपाली कांग्रेसका बौद्धिक नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्य अवस्था थप गम्भिर बनेको छ। क्यान्सर रोगबाट पीडित गिरीको हाल ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

साउन दोस्रो साता अस्पताल भर्ना हुनुभएका गिरिको अवस्था थप जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको अस्ताला प्रशासनले बताएको छ । यसअघि उहाँलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेता गिरीको स्वास्थ्य अवस्था जटिल रहेकाले सघन उपचार कक्ष (आईसीयू)बाट भेन्टिलेटरमा सारेर उपचार भइरहेको जानकारी दिनुभएको छ ।

यसैगरी, अस्पतालको कक्षका अनुसार, नेता गिरीको भेन्टिलेटरमा उपचार भइरहेको छ। गिरीका सहयोगी मन्दिप भारतीले उहाँको उपचार जारी रहेको जानकारी दिनुभयो।

गोरखापत्र अनलाईनका अनुसार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यतिबेला प्रार्थनाको जरुरी रहेको भन्दै नेता गिरीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ। महामन्त्री शर्माले उहाँ जीवनका लागि संघर्षरत रहनुभएको उल्लेख गर्नुभएको छ। महामन्त्री शर्माले ट्वीटमा भन्नुभएको छ, ‘‘अनेक हल्लाहरु केवल हल्ला मात्र हुन्। जीवनका लागि संघर्षरत आदरणीय अग्रज बौद्धिक व्यक्तित्व प्रदिप गिरी अस्पतालबाट स्वस्थ भएर घर फर्किन सक्नुहोस्। सबैले यही कामना गरौं।’’

गत मंगलबार काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुग्नु भएको थियो । लामो समय भारतमा उपचार गरेर स्वदेश आउनु भएका गिरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना हुनुभएको हो । घाँटीको क्यान्सरबाट पीडित उहाँलाई अहिले निमोनिया पनि देखिएको छ ।

गिरिलाई भेटेपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले स्वास्थ्य सुधारमा ईश्वरीय चमत्कारका लागि प्रार्थना गर्न आग्रह गर्नु भएको छ । गिरिको पारिवारिक सदस्यहरूले स्वास्थ्य अवस्था गम्भीर रहेकाले स्वास्थ्यलाभको कामना गर्न सामाजिक सञ्जालमा आग्रह गरेका छन् । उहाँको स्वास्थ्यअवस्थाको जानकारी लिन शुभचिन्तक र कांग्रेस नेताहरू अस्पताल जाने क्रम बाक्लिएको छ ।

Facebook Comments