Mon. Apr 29th, 2024

आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भगवान कृष्णको पूजाआराधना गरी मनाइँदै

रमेश हतुवाली/काठमाण्डौं, २०७९ भदौं ३ गते शुक्रबार । आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान कृष्णको पूजाआराधना गरी भव्य रुपमा मनाइँदै छ । धार्मिक मान्यता अनुसार आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसेर रातभर जाग्राम बस्ने प्रचलन छ । आज सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ । सन्देशमा यो पर्वले आपसी सद्‍भाव, करुणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरिएको छ ।

विश्‍वभरिका हिन्दू धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा-अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन रही आएको स्मरण गर्दै शुभकामना सन्देशमा उहाँले त्यसले सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गरेको उल्लेख गर्नुभएको छ । उहाँले काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गर्ने गीता ज्ञानले हामीलाई सुकर्मका लागि युगौँदेखि निरन्तर मार्गदर्शन गरिरहेको उल्लेख गर्नुभएको छ ।

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश दिँदै सम्पूर्ण हिन्दू धर्मावलम्बीका लागि आराध्यदेव भगवान् श्रीकृष्णको शिक्षा र सन्देश समस्त मानव समुदायका लागि अत्यन्त उपयोगी र सारगर्भिक रहेको बताउनुभएको छ ।

भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतमले बताउनुभयो ।

भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र भाद्र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई अँध्यारी भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ ।

गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ ।

Facebook Comments