Fri. Apr 26th, 2024

भारतबाट सस्तोमा किने पनि नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने

भिओके समाचार/काठमाण्डौं, २०७९ साउन ३१ गते मंगलबार । भारतबाट सस्तोमा इन्धन किने पनि नेपाल आयल निगमले मूल्य नघटाउने बताएको छ ।

भारतबाट हरेक १५ दिनमा आउने पेट्रोलियम पदार्थको नयाँ मूल्य तेस्रो पटक घटेर आए पनि निगमलाई अझै डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ५ सय रुपैयाँ घाटा रहेकोले भारतबाट मूल्य घटेर आए पनि मूल्य घटाउन नसकिने अवस्था रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले बताउनुभयो । निगमले हाल मासिक ६२.५८ करोड रुपैयाँ घाटा रहेको बताएको छ ।

रेडियो नेपालका अनुसार निगममा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक थानीले इन्डियन आयल कर्पोरेशन (आइओसी) ले मङ्गलवार पठाएको नयाँ मूल्य अनुसार नेपाल आयल निगमले खरिद गर्दा पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९४ पैसा र डिजेल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसाले घटेर आएको जानकारी दिनुभयो । कार्यकारी निर्देशक थानीले हाल निगमले १० अर्ब ऋणको ब्याज १४ करोड तिर्नुपर्ने, यसअघिको नोक्सानीका कारण भारतीय आयल कर्पोरेसनलाई निगमले अझै २३ अर्ब तिर्नुपर्ने दायित्व रहेको पनि जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै पछिल्लो समय ३ पटकसम्म लगातार आइओसीबाट पेट्रोलियमको मूल्य घटेर आएको छ ।

Facebook Comments