Sun. Apr 28th, 2024

साउनको पाँचौं सोमबार शिव मन्दिरहरूमा थेगिनसक्नु भुइँचो

काठमाण्डौं, २०७९ साउन ३० गते सोमबार । आज साउन महिनाको अन्तिम सोमबार रहेको छ । यसपालिको साउन महिनामा ५ वटा सोमबार परेको छ । आजको दिन देशका विभिन्न ठाउँको शिव मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ । सोमबारको व्रत बस्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । खासगरी नेपाली हिन्दू महिलाहरू साउनमा पाँच वटा सोमबार पर्दा विशेष हर्षित हुने गर्छन् । त्यसैले पनि आज शिव मन्दिरहरूमा महिलाहरूको घुइँचो लागेको छ ।

भक्तजनहरूले साउन महिनाभरि माछा, मासु, लसुन, प्याज जस्ता खाने कुरा नखाने र चोखो खानेकुराहरू खाएर व्रत बस्ने गर्दछन् । यदि पूरा महिना चोखो खाएर व्रत बस्न नसक्ने भक्तजानहरुले विशेष गरी साउन महिनाको हरेक सोमबार व्रत बस्ने गर्दछन् ।

साउन महिना शिवजीलाई असाध्यै मन पर्ने महिना भएकाले साउन महिनामा व्रत बसेर शिवजीको पूजा-आराधना गरेमा शिवजीले आफ्नो इच्छा पूरा गरीदिने भन्ने धार्मिक विश्वासले व्रतालुहरुले साउन महिनामा हरियो चुरा, मेहेन्दी र हरियो कपडाहरु लगाएर व्रत बस्ने गर्दछन् । सोमवारका दिन पूजा-आराधना र अर्चना गर्नाले मनोकामना सिद्ध हुने विश्वास पनि रही आएको छ ।

Facebook Comments