Thu. May 2nd, 2024

कोशी बाढीबाट क्षति भएका क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाण्डौं, २०७९ साउन ३० गते सोमबार । सरकारले सप्तकोशी नदीमा आएको बाढीबाट क्षति भएका क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत साउन २६ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभएको हो । सप्तकोशी नदीको बाढीले तटबन्ध भत्काएर बास्तीमा पानी पस्दा हजारौ परिवार विस्थापित वनेका छन् ।

यस्तै बैठकले भारतीय सेनाका स्थल सेनाअध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा गर्ने निर्णय गरेको छ । बैठकले बजेट मार्फत सरकारले घोषणा गरेको तलव बृद्धिलाइ यहि साउन एक गते देखि लागू हुने गरी स्वीकृत गरेको छ ।

सरकारले बजेट मार्फत राष्ट्र सेवक कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो । यस्तै मन्त्रिपरिषद्ले विश्व बैंकबाट हरित उत्थानशील र समावेशी विकासका लागि करिब १२ अर्ब ७० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता लिने, पूर्वी तराईको सिँचाइ प्रणाली पुर्नस्थापना आयोजनाका लागि जापान सरकारवाट २ अर्ब १३ करोड भन्दा बढी अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिनुभयो । नेपाल टेलिभिजन

Facebook Comments