Wed. Apr 24th, 2024

नेपाल-चीन सम्बन्ध विश्वकै लागि उदाहरणीय

- कुटनीतिक सम्बन्धका ६७ वर्ष

काठमाण्डौं, २०७९ साउन २८ गते शनिबार । 

✍️ रमेश हतुवाली/नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६७ वर्ष पूरा भएको छ । परापूर्व कालदेखिका असल छिमेकी यी दुई देशबीच धार्मिक, साँस्कृतिक, आर्थिक, सामाजिक र राजीतिक सम्बन्ध शताब्दियौंदेखि सुमधुर रहेको छ । एकअर्काका भरपर्दा छिमेकी नेपाल र चीनबीच युुगौंदेखि विशिष्ट सम्बन्ध रहँदै आएको छ । विश्व रंगमञ्चमा समेत समान धारणा व्यक्त गर्दै आइरहेका नेपाल र चीनबीचको जस्तो सम्बन्ध विरलै देशबीच होला भन्न सकिन्छ । शासक र शासन व्यवस्था फेरिए पनि दुई देशबीचको प्रगाढ र सहयोगात्मक सम्बन्ध कहिल्यै पनि फेरिएको छैन । मित्रताको खडेरी पर्दै गएको वर्तमान विश्वमा नेपाल र चीनबीचको यस्तो आत्मीयसम्बन्ध जो कोहीका लागि उदाहरणीय कुरो हो । हामी गौरवका साथ भन्न सक्छौं चीनसँगको नेपालको सम्बन्ध प्रागऐतिहासिक कालदेखि वर्तमानसम्म आउँदा समस्यारहित छ । समस्यारहित अनि विश्वासिलो सम्बन्धकै कारण हुनसक्छ, हामी चीनलाई छिमेकी मात्र नभनेर असल छिमेकी भनी सम्बोधन पनि गर्दछौं ।

मित्रताको खडेरी पर्दै गएको वर्तमान विश्वमा नेपाल र चीनबीचको यस्तो आत्मीयसम्बन्ध जो कोहीका लागि उदाहरणीय कुरो हो ।

चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक तथा चिनियाँ क्रान्तिका प्रणेता माओ चतोङ्गको नेतृत्वमा सन् १९४९ मा नयाँ चीनको स्थापना भएपछि नेपाल र चीनका उच्च नेताहरूबीच विभिन्न समयमा विविध चरणका उच्चस्तरीय वार्ताहरू सम्पन्न भए पश्चात आजकै दिन अर्थात सन् १९५५ अगस्त १ का दिन नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । कूटनीतिक सम्बन्ध कायम भए पश्चात् दुवै मुलुकका सरकार प्रमुखहरू, राजनीतिक दलका नेताहरू, व्यापारी, कर्मचारी, शिक्षक, विद्यार्थी हुँदै हामीबीचको सम्बन्ध जनस्तरसम्म अभिवृद्धि हुन थाल्यो । त्यतिमात्र होइन तत्कालीन अवस्थामा थाइवान (ताइवान, चीन) मामिलालाई पश्चिमा मुलुकहरूले अनावश्यक ढंगबाट गिजोल्ने र उरालिरहेको परिप्रेक्षमा नेपालले विश्वमा एउटा मात्र चीन रहेको र चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको जनवादी गणतन्त्र चीन सरकारलाई चिनियाँ जनताको आधिकारिक सरकारको रूपमा बलियो समर्थन गर्दै यस मान्यतालाई विश्व रंगमञ्चसम्म पुर्यायो । वरिष्ठ लेखक तथा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ अगस्त १ लाई नेपाल र चीनबीचको सम्बन्धको नवीकरणको दिन हो भन्नुहुुन्छ । महामञ्जुश्रीले काठमाडौं उपत्यकामा रहेको विशाल तालको पानीलाई आफ्नो खड्गले काटी चोभारबाट बगाई काठमाडौं उपत्यकामा वस्ती बसाएको समयदेखि आजका दिनसम्म आइपुग्दा नेपाल र चीन सजिलो समयमा मात्र नभएर अप्ठेरो परिस्थितिका समेत भरपर्दा मित्र हुन् भन्ने कुराको प्रमाण प्राप्त भइसकेको कूटनीतिज्ञ श्रेष्ठ बताउनु हुन्छ ।

एक असल र घनिष्ठ छिमेकीको हैसियतले नेपालले संयुक्त राष्ट्रसंघमा चीनको न्यायोचित स्थानका लागि सुरुदेखि नै आवाज उठाउँदै चीनको स्वाशासित क्षेत्र तिब्बत र थाइवानलाई जनवादी गणतन्त्र चीनका अभिन्न अङ्ग हुन् भन्नेमा सधैं प्रतिवद्धता व्यक्त गर्दै आएको छ । अमेरिका लगायतका पश्चिमा देशहरुले चीनको सिन्च्याङ, हङ्गकङ्ग, तिब्बत लगायतका क्षेत्रमा उठाएको मानव अधिकारको विषय होस् वा उसको क्षेत्रीय अखण्डताको विषय होस्, नेपाल सदैव चिनियाँ जनताका साथमा अविचलित रूपमा खडा रहँदै आएको छ । ‘एक चीन नीति’प्रतिको नेपालको अडान त्यसैको प्रतिफल हो भन्दा फरक पर्दैन । हामी नेपाली जनता, नेपाल सरकार र नेपालका राजनीतिक दलहरू सबै ‘एक चीन नीति’प्रति मन, वचन र कर्मले प्रतिबद्ध छौं । मित्रराष्ट्र चीनले पनि नेपाल र नेपाली जनताको हितका लागि आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक, भौतिक पूर्वाधार निर्माण लगायत विकासका क्षेत्रमा समेत महत्वपूर्ण सहयोग प्रदान गर्दै आएको छ । ऐतिहासिककालदेखि नै यस्तो पारस्परिक सद्भाव र सहयोगी व्यवहारका कारण नै नेपाल-चीन सम्बन्ध एक उदाहरणीय रूपमा रहेको छ भन्दा फरक पर्दैन । हामी आशा अनि विश्वास गरौं हिमाल, पहाड र खोला अनि नदीहरुले जोडेको दुई देशको समस्यारहित सम्बन्ध अनन्त भविष्यसम्म अझै फल्दै फुल्दै जाने छ ।

हामी नेपाली जनता, नेपाल सरकार र नेपालका राजनीतिक दलहरू सबै ‘एक चीन नीति’प्रति मन, वचन र कर्मले प्रतिबद्ध छौं ।

छिमेकी चीनले बितेका झण्डै चार दशकमा आर्थिक, सामाजिक, सामरिक एवम् अन्तरिक्ष विज्ञानमा प्राप्त गरेको चामत्कारिक सफलतालाई नेपालीले उच्च मूल्याङ्कन गरेका छन् । हाम्रो उत्तरी छिमेकी मित्रराष्ट्र चीनले सन् १९७८ मा आर्थिक उदारीकरण र खुला नीति अपनाएपछि हासिल गरेको बहुपक्षीय सफलता र उपलब्धिहरू विश्वलाई नै चकित पार्ने खालका छन् । फलस्वरूप चीन आज अमेरिकालाई समेत पछि पार्दै विश्वको प्रथम अर्थतन्त्र बन्न प्रयत्नशील छ । चीनको यो सफलताले नेपाली जनतामा आफ्नो देशको आर्थिक-सामाजिक र भौतिक विकासमा महत्वपूर्ण टेवा पुग्ने आशा जगाएको छ । दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६७ औं वार्षिकोत्सवका अवसरलाई मूल्याङ्कन गर्दै नेपाल सरकारका पूर्व मुख्यसचिव तथा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्याल ६७ वर्षको अवधिमा नेपाल र चीनमा जतिसुकै र जस्तासुकै किसिमका राजनीतिक तथा आर्थिक परिवर्तन आए पनि दुई देशको सम्बन्धमा कहिल्यै कुनै पनि प्रकारका उतारचढाव नआएको बताउनु हुन्छ । चीन नेपालमा सधैं राजनीतिक तथा सामाजिक स्थिरताको पक्षमा रहेको र नेपालमा हुने अस्थिरताले चीनलाई समेत दखल पु¥याउने हुनाले यस विषयमा चीन सचेत रहेको बताउनु हुन्छ । छिमेकी देशको गरिबीले आफ्नो देशलाई पनि नकारात्मक प्रभाव पार्छ भन्ने कुरो राम्ररी बुझेको चिनियाँ नेतृत्वले आफ्नो देशको विकासको प्रतिफल छिमेकीले समेत उपभोग गर्न पाउन् भन्ने लगायतका कुराहरुलाई मध्यनजर गर्दै बिआरआई परियोजना ल्याएको पौड्यालको भनाइ छ ।

हामी आशा अनि विश्वास गरौं हिमाल, पहाड र खोला अनि नदीहरुले जोडेको दुई देशको समस्यारहित सम्बन्ध अनन्त भविष्यसम्म अझै फल्दै फुल्दै जाने छ ।

महामञ्जुश्रीले सुरु गर्नुभएको नेपाल आगमनको इतिहास हाल आएर जनस्तरसम्म फैलिएको छ । नेपालीहरू चीन जाने र चिनियाँहरू नेपाल आउने प्रक्रिया अहिले सामान्य भएको छ । प्राचीन समयमा यी दुई देशबीच वस्तु विनिमयका हिसाबले व्यापार हुने गरेको थियो । पछि आएर दुई देशबीचको व्यापार आधुनिक र अन्तर्राष्ट्रियस्तरको भएको छ । आर्थिक विकासको बाटोमा लम्कन लागेको नेपाल र विश्व अर्थतन्त्रको मियो बनेको चीनबीच भौतिक, सामाजिक, सांस्कृतिक, आर्थिक आदानप्रदानबाट सहयात्रा गर्दै अघि बढ्न सक्नु आजको आवश्यकता हो भने दिनानुदिन उच्च एवम् सम्पन्न जीवनशैली व्यतीत गर्ने स्तरमा पुगेका चिनियाँ पर्यटकहरूलाई आकर्षण गर्न कुनै कसर बाँकी नराखी नेपालको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने समयलाई पनि हर्किन नदिनु हाम्रो बुद्धिमानी हुनेछ । तिब्बत सदरमुकाम ल्हासा हुँदै नेपालको उत्तरी सीमा नजिकै रहेको चीनको सिगाचेसम्म आएको चिनियाँ रेललाई कूटनीतिक पहल गर्दै नेपाल भित्रियाउने तारतम्यको थालनी यतिबेलै भएन भने हामी विकास र अवसरका हिसाबले अझै पछि पर्ने निश्चित छ । अर्कातिर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन एवम् द्विपक्षीय व्यापार विस्तारका लागि निजी क्षेत्रको प्रयास उल्लेख्य र प्रशंसनीय देखिन्छ ।

चीनसँगको पारवहन तथा यातायात सम्बन्धी पछिल्लो समझादारीले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट अब भू-जडित मुलुकको रुपमा स्थापित गरिदिएको छ । दक्षिणतिरबाट हुनसक्ने कुनै पनि किसिमको नाकाबन्दीले अब नेपाललाई लामो समयसम्म प्रभावित गर्ने ल्याकत राख्दैन । चीनसँगको पछिल्लो समझदारीले नेपाल अब उत्तरी सीमा हुँदै चीनको समुद्रसम्म पुग्ने सुविधा प्राप्त देश बनिसकेको छ । चीनले प्रदान गरेका यस्ता थुप्रै सुविधाहरुको उपयोग बुद्धिमत्तापूर्ण ढंगले गर्न सके छिमेकी चीनले प्राप्त गरेका विकासका अनुपम उपलब्धिबाट हामीले पनि प्रशस्त मात्रामा फाइदा लिनसक्ने सम्भावना रहेको रे मिडिया ग्रुपका अध्यक्ष प्रकाश बाबु पौडेलको भनाइ छ । नेपाली विद्यार्थीहरुलाईचीनलेबर्सेनि विभिन्न विषयमा उपलब्ध गराउँदै आएको छात्रवृत्ति र नेपालको पर्यटन क्षेत्रको विकासमा चीनले दिँदै आएको चासो महत्वपूर्ण रहेको पौडेल बताउनु हुन्छ ।

विश्व रंगमञ्चमा देखिएका जस्तासुकै समस्याहरूको समाधान पनि शान्तिपूर्ण तरिकाले गर्नुपर्छ भन्ने मान्यतालाई व्यवहारमै उतार्न सफल नेपाल र चीन २१ औं शताब्दिका भरपर्दा मित्र हुन् । नेपाल आज पनि कृषिप्रधान देश नै हो । तर कृषि क्षेत्रको आधुनिकीकरणका लागि आवश्यक प्रविधिको प्रयोगमा हामी कमजोर छौं । विश्वमै सबैभन्दा धेरै धान उत्पादन गर्ने चीन अत्याधुनिक प्रविधिको प्रयोगमार्फत कृषि क्षेत्रको उच्चतम विकासमा अब्बल देखिएको छ । त्यति मात्र नभएर मानव जीवनलाई अझ सुखमय बनाउन उसले कुनै कसर बाँकी राखेको छैन । एउटा असल छिमेकी र भरपर्दो मित्रको नाताले पनि हामी चीनले कृषि क्षेत्रमा प्रयोग गर्दै आएका अत्याधुनिक प्रविधिको प्रयोग मार्फत नेपालको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन सक्छौं । त्यसैले पनि कृषि, जलयातायात, पर्यटन, भौतिक पूर्वाधार निर्माण जस्ता विषयमा चीनले प्राप्त गरेका अनुभवहरूको अनुशरण गर्दै मुलुकको सर्वोत्तम विकासका लागि चीनसँग हातेमालो गर्नु नितान्त आवश्यक छ ।

विश्व रंगमञ्चमा देखिएका जस्तासुकै समस्याहरूको समाधान पनि शान्तिपूर्ण तरिकाले गर्नुपर्छ भन्ने मान्यतालाई व्यवहारमै उतार्न सफल नेपाल र चीन २१ औं शताब्दिका भरपर्दा मित्र हुन् ।

दुई देशको मित्रताको बन्धनलाई जनस्तरसम्म विकास गर्न महामञ्जुश्री, फा स्यान, स्वान चाङ, बुद्धभद्र, भृकुटी, अरनिको जस्ता महामानवहरूले पु¥याउनु भएको योगदान र देखाउनु भएको बाटोको स्मरण गर्दै सोही बाटोमा हिँड्न सके नेपाल र चीनबीचको ऐतिहासिक कालदेखिको प्रगाढ सम्बन्ध अनन्त भविष्यसम्म फलदायी बन्ने कुरामा शंका छैन ।

अन्त्यमा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भई ६७ वर्ष पूरा भएको सुखद अवसरमा चिनियाँ जनताको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

                                                        नेपाल-चीन सुमधुर मैत्री अमर रहोस् ।

Facebook Comments