दिवङ्गत आफन्तको सम्झना गरि आज गाईजात्रा पर्व मनाइँदै
भिओके समाचार/काठमाण्डौं, २०७९ साउन २७ गते शुक्रबार । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म जम्मा ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईँदैछ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई अथवा मानिसलाई गाईका रूपमा सिँगार, पटारगरी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धा एवम् भक्तिपूर्वक दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै विभिन्न अन्न र द्रव्य दान गरिन्छ । यसरी गाउँ अथवा नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।
इतिहासको कुरा गर्ने हो भने राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन, “जनतालाई आआफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू” भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले गाईजात्रा पर्व मनाउदा विशेष स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरेको छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान र मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाउने चलन छ ।
दशकौंदेखि गाईजात्रा पर्वलाई व्यङ्ग्यात्मक ढङ्गले नेपाली समाजमा उतार्ने गरिएको छ । विशेषत यस पर्वका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । मुलुकमा झण्डै ३० वर्षसम्म कायम रहेको पञ्चायती शासनकालमा व्यवस्था र ठूलाबडाको विरोध गरेको खण्डमा कठोर यातना सहित जेलको समेत सजाय हुने प्रचलन थियो । तत्कालिन समयमा वर्षमा एक दिन अर्थात आजकै दिन देशका विभिन्न भागमा गाईजात्राका नाममा राजनीतिक तथा सामाजिक क्षेत्रमा देखिएका विक्रिति तथा विसंगतीहरुका विरुद्ध खुला कार्यक्रमहरुको आयोजना गर्ने चलन थियो । आजकै दिन विभिन्न पत्रपत्रिकाहरुले गाईजात्रा विशेष अंक प्रकाशित गर्दथे भने विभिन्न म्युजिक कम्पनीहरुले पनि हास्यव्यङ्ग्य अङ्क प्रकाशित गर्दथे । वि.सं.२०४६ साल चैत २६ गते बहुदलीय व्यवस्थाको घोषणा भएपछि यस्ता प्रचलनहरु क्रमश मधुरा हुँदै गएका छन् ।
गाईजात्रा पर्व काठमाडौं उपत्यका लगायत काभ्रोको बनेपा, धुलिखेल, पनौती, सिन्धुपाल्चोकको बाह्रबिसे, नुवाकोटको त्रिशूली, दोलखाको चरिकोट, खोटाङको दिक्तेल र खोटाङ बजार, भोजपुरको भोजपुर बजार, टक्सार बजार, संखुवासभाको चैनपुर बजार, इलामको इलाम सदरमुका, सुनसरीको धरान बजार, मोरङको विराटनगर, मकवानपुरको हेटौँडा, पाल्पाको तान्सेनबजार र पोखरालगायत नेवार समुदायका मानिसको विशेष बसोबास रहेका क्षेत्रहरुमा धूमधामका साथ मनाईन्छ ।
आजको दिन गाईजात्रा पर्वमा सहभागी कलाकार र दर्शकेहरुलाई पानी, फलफूल, अन्न जस्ता खाद्यपदार्थ दान गर्दा पितृहरुको मोक्ष हुने र अनन्त पूण्य प्राप्त हुने धार्मिक तथा साँस्कृतिक मान्यता रहँदै आएको छ ।