Sat. Apr 27th, 2024

मदन पुरस्कारका लागि ८ वटा पुस्तक छनौट

भिओके समाचार/काठमाण्डौं, २०७९ साउन २३ गते सोमबार । मदन पुरस्कार गुठीले यस वर्षका लागि ८ वटा पुस्तक छनोट गरेको छ । मदन पुरस्कार गुठीले गत वर्ष दर्ता हुन आएका २ सय ९९ पुस्तकबाट उत्कृष्ठ ८ वटा पुस्तकको सूची सोमबार सार्वजनिक गरेको हो ।

छनौट गरिएका उत्कृष्ट ८ पुस्तकमा डा. नवराज लम्सालको ‘अग्नि’, डा. दामोदर पुडासैनी किशोरको  ‘ग्रीष्मको नीलो बतास’, बसन्त बस्नेतको  ‘महाभारा’, दीपा मेवा हाङ राईको  ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलको  ‘लिच्छवि लिपि’, प्रा, नीलमणि ढुंगानाको ‘व्युत्पत्तिमूलक संस्कृत‐नेपाली शब्दकोश’, सुजित मैनालीको  ‘सतीः इतिहास र मीमांसा’ र पद्यसुन्दर जोशीको ‘हिति प्रणाली’ पुस्तक रहेका छन्।

वर्षको उत्कृष्ट पुस्तक छनौट गर्न गुठीले स्थापना गरेको समितिलाई १० वटासम्म पुस्तकको सूची उपलब्ध गराउन भनिएकोमा यस पटक ८ वटा मात्र पुस्तकको नाम प्राप्त भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले एक विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।

मदन पुरस्कारलाई नेपालको नोबेल पुरस्कार पनि भन्ने गरिन्छ । नेपाली भाषामा प्रकाशित एउटा उत्कृष्ट पुस्तकलाई हरेक वर्ष पुरस्कृत गर्ने गरिएको छ । मदन पुरस्कार प्रधानमन्त्री चन्द्रशमशेर जबराकी बुहारी रानी जगदम्बा कुमारी देवीले आफ्ना पति स्वर्गीय जनरल मदन शमशेर जबराको सम्झनामा २६ सेप्टेम्बर १९५५ मा स्थापना गर्नु भएको हो । त्यसयता सन् १९७४ र १९७६ बाहेक हरेक वर्ष मदन पुरस्कार वितरण गर्ने गरिएको छ ।

Facebook Comments