Sun. May 19th, 2024

आगामी चुनावी तालमेलमा बुद्धि पुर्याउन कांग्रेस नेतृत्वलाई नेताहरूको आग्रह

भिओके समाचार/काठमाण्डौं, २०७९ साउन २३ गते सोमबार । नेपाली काँग्रेसका नेताहरूले आगामी निर्वाचनमा गठबन्धनमा आबद्ध दलहरूसँग तालमेल गर्दा सुझबुझ अपनाउनु पर्ने र कांग्रेसलाई फाइदा पुग्ने किसिमले गर्न नेतृत्वलाई आग्रह गरेका छन् । सोमबार बसेको नेपाली काँग्रेसको कार्यदल समितिको बैठकमा धारणा राख्दै नेताहरूले शीर्ष नेतृत्वलाई यस्तो सुझाव दिएका हुन् ।

बैठकमा देशभर काँग्रेसको मत धेरै र सत्तागठबन्धनका अरू दलको मत कम रहेकाले तालमेलमा सुझबुझपूर्ण निर्णय गर्नुपर्ने नेताहरू धारणा रहेको छ । बैठकमा विमलेन्द्र निधि, विजय गच्छदार, प्रकाशमान सिंह, गोपाल मान श्रेष्ठ, महेन्द्र यादव, उमाकान्त चौधरी, किशोर सिंह राठौर लगायतका नेताले धारणा राख्नु भएको थियो ।

बैठकमा नेता विमलेन्द्र निधिले पार्टीमा सबैलाई मिलाएर अघि बढ्न सभापति शेरबहादुर देउवालाई सुझाव दिनुभएको थियो । त्यस्तै नेता विजय गच्छदारले थारु समुदाय पार्टीभित्रै बेवास्तामा परेको गुनासो गर्नुभयो । बैठकले साउन ३० र ३१ गते स्थानीय तहमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण गर्ने निर्णय गरेको छ।

केन्द्रीय समितिले गरेको निर्णय अनुसार भाद्र २ देखि २४ गतेसम्म देशव्यापी विशेष अभियानमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय भएको छ।

Facebook Comments