Mon. Dec 23rd, 2024

हामी एक चीन नीतिमा विश्वास गर्छौं : केपी शर्मा ओली

dav

रमेश हुतुवाली/काठमाण्डौं, २०७९ साउन १९ गते बिहीबार । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एक चीन नीतिको पक्षमा रहेको बताउनु भएको छ ।

नेकपा एमाले केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागद्वारा काठमाण्डौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सो विचार व्यक्त गर्नुभएको हो । नेपालस्थित विदेशी सञ्चार माध्यमका प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष ओलीले भन्नुभयो, “हामी एक चीन नीतिमा विश्वास गर्छौं, एक चीन नीति मान्छौं । चीन एउटा छ, अरु छैन । एक चीन नीति छाड्ने नीति होईन । बाहिर बाहिर एक चीन नीति भन्ने तर भित्र भित्र अरु गतिविधि गर्ने त्यो खालको हाम्रो स्वभाव छैन । हामी छिमेकीहरुसँगको सम्बन्ध अविस्वसनिय ढंगले सञ्चालन गर्न चाहान्नौं ।”

भारत र चीनजस्ता विश्वकै उदाउँदा छिमेकीहरुसँग विश्वासिलो र मित्रवत व्यवहार नेपालले चाहेको अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, “हामी भरपर्दा छिमेकी हुन चाहान्छौं । हामी हाम्रा छिमेकीहरुसँग पारदर्शी, स्वस्थ, मैत्रीपूर्ण र विश्वासिलो सम्बन्ध चाहान्छौं ।”

अध्यक्ष ओलीले तिब्बतको सन्दर्भमा नेपालको स्पष्ट नीति रहेको बताउनु भयो । “तिब्बत चीनको स्वाशासित प्रान्त हो । चीनको अभिन्न अंग हो । हामी यस विषयमा प्रष्ट छौं । हामी गोप्य वा खुला रुपमा यसलाई तलमाथि गर्दैनौं । हाम्रो देश अरुको हितको लागि प्रयोग हुन सक्दैन । हाम्रो भूमि हामी कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिन्नौं, “ओलीले भन्नुभयो ।

अमेरिकी संसद्को तल्लो सदनका सभामुख पेलोसीले हालै गर्नुभएको थाईवान भ्रमणको बारेमा नेकपा एमालेको के धारणा छ भनि सोधिएको प्रश्नको जावफ दिनुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “नेपालले एक चीन नीतिलाई मान्दै आएको र संसारका कुनै पनि देशले कसैको पनि आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हुँदैन ।”

“अमेरिकी सभामुखको ताईवान भ्रमणको सन्दर्भमा हामी के भन्छौं भने, संसारका कुनै पनि देशले कसैको पनि सम्वेदनशिलतातर्फ सम्वेदनशिल हुनुपर्छ । अरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्नुहुँदैन । अर्कोतिर शान्ति खल्बलिने र तनाव हुने खालका कुनै पनि क्रियाकलाप कसैले पनि गर्नु हुँदैन । हामी हाम्रा छिमेकहरुमा शान्ति होस् । हामी विश्वभरी नै शान्ति चाहान्छौं । शान्ति विपरितका क्रियाकलापहरु भविष्यमा पनि नहुन् । हामी वैदिक कालदेखि नै शान्तिको पक्षमा छौं ” ओलीले भन्नुभयो ।

पृथ्वीमा मात्र नभएर आकाशलाई पनि अशान्तिको लागि प्रयोग गर्न नहुनेमा अध्यक्ष ओलीले जोडदिदै भन्नुभयो, “हामी पृथ्वीमा मात्र होइन आकाशमा पनि शान्ति चाहान्छौं । आकाशलाई पनि अशान्तिको लागि प्रयोग गर्नुहुँदैन ।”

Facebook Comments