Mon. Apr 29th, 2024

अग्नि प्रसाद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित

काठमाडौं, २०७६ माघ १२ गते आईतबार

प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । नयाँ सभामुख निर्वाचित गर्न आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।

बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखका लागि सापकोटाको एकल उमेदवारी भएकाले प्रतिनिधि सभा नियमावली २०७५ को ७ (३) बमोजिम सापकोटा निर्विरोध निवार्वाचित भएको घोषणा गर्नुभयो ।

बैठकको शुरूमा सभामुखका रुपमा अग्नी सापकोटाको प्रस्तावक सुवासचन्द्र नेम्वाङले प्रस्ताव पेश गर्नुभएको थियो । त्यसपछि अग्नी सापकोटाका समर्थक देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीले समर्थन गर्नुभएको थियो ।

सभामुख पद रिक्त रहेको बेला ज्येष्ठताका आधारमा प्रतिनिधि सभाको अध्यक्षताको जिम्मेवारी निर्वाह गर्न पाएकोमा ठाकुरले धन्यवाद व्यक्त गर्नुभयो ।  बैठकको अध्यक्षता ज्येष्ठ सदस्यका रूपमा महन्थ ठाकुरले गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक माघ १४ गते मंगलबार दिनको १ बजे बस्नेछ ।

सभामुख अग्निप्रसाद सापकोटाबारे संक्षिप्त जानकारी

जन्म स्थान : सिन्धुपाल्चोक जिल्ला चौतारा-४ कुविण्डे टोल

जन्म मिति : २०१४ फागुन २४ गते

बुवा : धनपति सापकोटा

आमा : तिलमाया सापकोटा

शिक्षा : स्थानीय श्रीकृष्ण विद्याश्रमबाट औपचारिक पठनपाठन शुरु, सोही विद्याश्रमबाट एसएलसी उतीर्ण, समाजशास्त्रमा स्नातकोत्तर

शिक्षण पेशाको सुरुवात : वि.सं.२०३२ देखि

शिक्षण पेशाको अनुभव : १६ वर्ष (७ वर्ष माध्यमिक विद्यालयको प्रधानाध्यापक)

विद्यालय :सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालय

राजनीतिमा सक्रियता : २०२९ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक जीवनको शुरुवात, शिक्षण पेसामा रहँदा पनि उहाँ राजनीतिमै सक्रिय हुनुहुन्थ्यो

पार्टी सदस्यता लिएको मिति र पार्टीको नाम :  वि.सं. २०३५ साल नेकपा (चौथो महाधिवेशन)

अनुभव : २०३६ सालको जनमत संग्रहपछि शिक्षक संघर्ष समितिको जिल्ला उपाध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्षसम्म

संघर्ष : शिक्षण पेशामै रहँदा शिक्षक संघर्षको क्रममा पटक-पटक गिरप्तारी, हिरासत र जेल जीवन, २०४२ बैशाखदेखि असोजसम्म ६ महिना जेल

पारिवारिक स्थिति :  श्रीमती, तीन छोरा

  • २०४८ सालमा शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा पूर्णकालीन हुनुभएका उहाँ सोही वर्ष नै संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य हुनुभएको थियो। २०४८ सालमै संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उमेदवार बन्नुभएका उहाँ पराजित हुनुपरेको थियो।
  • २०५१ सालमा तत्कालीन नेकपा (माओवादी)को केन्द्रीय सदस्य बन्नुभएका सापकोटा २०६९ मा तत्कालीन एकीकृत नेकपा (माओवादी)को हेटौंडा महाधिवेशनबाट पोलिटव्यूरो सदस्य र विराटनगर सम्मेलनबाट स्थायी समिति सदस्य हुँदै पार्टी केन्द्रीय कार्यालय सदस्यसम्मको जिम्मेवारी पूरामा रहनुभयो। हाल नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य रहनुभएको छ।
  • २०६० सालमा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्यसमेत रहनुभएका सापकोटा जनयुद्धकालमा २०६२ चैत्र १४ गते सिन्धुपाल्चोकको ठोकर्पामा भएको दोहोरो भिडन्तमा तीन वटा गोली लागि घाइते हुनुभएको थियो।
  • साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट २०६४ र २०७० सालमा दुई पटक नै संविधान सभा सदस्यमा भारी मतान्तरले विजयी सापकोटा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो।
  • राजकीय जिम्मेवारीतर्फ २०६८ बैशाख २२ गते सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएका सापकोटाले २०७२ कार्तिक १ गतेदेखि वन तथा भू-संरक्षण मन्त्रीको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो।

नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि भ्वाईस अफ काठमाडौंको तर्फबाट लाखलाख शुभकामना ।।।

 

 

Facebook Comments